काठमाण्डौ । अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। शनिबार दुवै देशले एकअर्कासँग सम्बन्धित जहाजलाई लक्षित गर्दै जवाफी हमला गरेका छन्। एक साताअघि सुरु भएको सैन्य संघर्षपछि समुद्रमा भएको यो पछिल्लो चरणको आक्रमण हो।
अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको भिडियोमार्फत ओमानको खाडीमा एम÷टी काइलो नामक ट्यांकरलाई डुबाइएको दाबी गरेको छ। सेन्ट्रल कमान्डले अमेरिकी सेनाको कारबाहीलाई ‘सटीक र व्यावसायिक’ भन्दै ट्यांकर समुद्रमा डुबेको जनाएको छ।
अमेरिकी सेनाका अनुसार इरानसँग सम्बन्धित दुईवटा तेल ट्यांकरलाई ‘स्थायी रूपमा निष्क्रिय’ पारिएको छ। तीमध्ये एउटा ट्यांकर खार्ग द्वीप नजिक रहेको बताइएको छ। त्यस्तै, ओमानको खाडीमा रहेको अर्को ट्यांकरलाई ‘पूर्ण रूपमा नष्ट’ गरिएको अमेरिकी पक्षको दाबी छ।
यता, इरानको सरकारी सञ्चारमाध्यमले पनि अमेरिकी हमलाको पुष्टि गर्दै जवाफी कारबाहीमा अमेरिकासँग सम्बन्धित तीनवटा जहाजलाई लक्षित गरिएको जनाएको छ। इरानले होर्मुज जलडमरूमध्यबाट अनुमति बिना पार गर्न खोजेका तीनवटा तेल ट्यांकरमाथि समेत हमला गरेको दाबी गरेको छ।
इरानको पछिल्लो दाबीबारे अमेरिकी सेन्ट्रल कमान्डसँग प्रतिक्रिया मागिएको बताइएको छ।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमा इरानले अमेरिकी जहाजमाथि गोली चलाए अमेरिकी पक्षले इरानी तेल ट्यांकरलाई नष्ट गर्ने चेतावनी दिएको केही घण्टापछि इरानको जवाफी कारबाहीको खबर सार्वजनिक भएको हो।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी कारबाहीअघि इरानले दुई अमेरिकी युद्धपोतलाई निशाना बनाएको थियो। त्यसपछि अमेरिकाले इरानसँग सम्बन्धित तीनवटा तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।
सेन्ट्रल कमान्डले यसअघि इरानी रिभोल्युसनरी गार्ड्स कोरबाट गरिएका विभिन्न आक्रमणलाई सफलतापूर्वक विफल पारेको दाबी गरेको छ। ती आक्रमणमा अमेरिकी विमानवाहक युद्धपोत तथा गाइडेड मिसाइल विध्वंसकलाई निशाना बनाइएको अमेरिकी पक्षको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।