काठमाण्डौ । राइड–हेलिङ प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
इनड्राइभ नेपालका प्रतिनिधिहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र नजिक गएको हिम तथा चट्टानी पहिरोपछि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट र धादिङका तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनर्स्थापनाको काम जारी रहेका बेला इनड्राइभले सरकारको राहत कोषमार्फत ठूलो रकम सहयोग गरेको हो।
कम्पनीले आर्थिक सहयोगमा मात्र सीमित नरही प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सामग्रीसमेत वितरण गरेको छ।
इनड्राइभले नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट, स्यानिटरी प्याडलगायत दैनिक जीवनका लागि आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर प्रत्यक्ष राहत वितरणसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत योगदान पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराइएको हो।
भोटेकोशी बाढीपछि विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निजी व्यावसायिक समूह, अन्तर्राष्ट्रिय निकाय तथा व्यक्तिहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।