Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 04:34:20
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढी : पहिचान नभएका १,१४८ शव गाडियो, डीएनए परीक्षण सुरु

भोटेकोशी बाढी : पहिचान नभएका १,१४८ शव गाडियो, डीएनए परीक्षण सुरु
New Office

काठमाण्डौ । भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका १ हजार १४८ शव सुरक्षित रूपमा गाडिएको छ। शवको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणसमेत सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार भदौ १० गते आएको विनाशकारी बाढीमा हालसम्म १ हजार ३७४ जनाको मृत्यु भएको छ भने ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन्।

भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासबाट ठूलो संख्यामा शव फेला परेका छन्। लामो समयसम्म शव राख्दा संक्रमण फैलिन सक्ने जोखिमका कारण पहिचान नभएका शवलाई आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ।

शव गाड्नुअघि प्रहरीले सम्भव भएसम्म पहिचानको प्रयास गर्ने गरेको छ। पहिचान खुल्न नसके शवको विभिन्न कोणबाट कम्तीमा पाँचवटा फोटो खिच्ने, लासजाँच मुचुल्का तयार गर्ने र डीएनए परीक्षणका लागि नमुना संकलन गर्ने गरिएको छ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार हालसम्म १ हजार १४८ शव गाडिएको छ। बाढीमा ज्यान गुमाएकामध्ये १०२ जनाको मात्रै शव सनाखत भएको छ।

पहिचान नभएका शवलाई विशेष ‘एयरटाइट ब्याग’मा राखेर गाड्ने गरिएको छ। शवबाट लिइएको डीएनए नमुना र शव राखिएको झोलामा एउटै संकेत नम्बर राखिन्छ। शव गाडिएको स्थानमा समेत सोही नम्बर उल्लेख गरिन्छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएसपी दिलिप घिमिरेका अनुसार पछि मृतकका परिवारको डीएनएसँग नमुना मिलेको अवस्थामा गाडिएको शव उत्खनन गरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

दक्षिणढोकामा मात्रै २३१ शव

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका वन क्षेत्रमा हालसम्म २३१ शव गाडिएको छ। रसुवा, नुवाकोट र धादिङबाट ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि त्यहाँ सुरक्षित व्यवस्थापन गरिएको हो।

चितवनको नारायणी नदीमा भेटिएका ३६३ शवमध्ये १४ वटाको मात्रै पहिचान खुलेको छ। पहिचान नखुलेका ३४९ शव देवघाट वन क्षेत्रमा गाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नुवाकोटमा रसुवाबाट ल्याइएका ५६ शव र नुवाकोटमै फेला परेको एउटा शव गरी ५७ शव गाडिएको छ।

त्यस्तै, कास्कीमा २५, नवलपरासी पूर्वमा १६०, पाल्पामा ८ र गोरखामा ६७ शव सुरक्षित रूपमा गाडिएको छ।

प्रहरी प्रयोगशालामा डीएनए जाँच सुरु

पहिचान नखुलेका शवको डीएनए परीक्षण प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा सुरु गरिएको छ।

प्रयोगशालाका एसएसपी योगबहादुर पालका अनुसार शवबाट संकलित नमुना र बेपत्ता व्यक्तिका एकाघरका परिवारबाट लिइएको रगतको नमुना तुलना गरी पहिचान गर्ने प्रक्रिया सुरु भएको हो।

काठमाण्डौमा प्रहरी अस्पतालले परिवारका सदस्यहरूको डीएनए प्रोफाइलिङ गरिरहेको छ भने काठमाण्डौ बाहिरका जिल्लाबाट पनि सम्पर्कविहीन व्यक्तिका परिवारको रगत नमुना संकलन गरी परीक्षणका लागि ल्याइँदैछ।

प्रहरी प्रयोगशालासँगै खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ।

डीएनए परीक्षणबाट पहिचान खुलेपछि सुरक्षित रूपमा गाडिएका शव उत्खनन गरी सम्बन्धित परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.