Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 08:13:30
Bizshala
Global IME Bank Limited

२० प्रतिशत बोनस र आईपीओसँगै नर्भिकको आक्रामक विस्तार, रु.३ अर्बको क्यान्सर संस्थान बनाउने

२० प्रतिशत बोनस र आईपीओसँगै नर्भिकको आक्रामक विस्तार, रु.३ अर्बको क्यान्सर संस्थान बनाउने
New Office

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले चुक्ता पुँजी वृद्धि गरी बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीको छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हालका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो। बोनस सेयर वितरणपछि नर्भिकको चुक्ता पुँजी हालको तुलनामा २० प्रतिशतले वृद्धि हुनेछ।

बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशतबराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणमा निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभाबाट अनुमोदन भएको छ।

बुक बिल्डिङ प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने आह्वानपत्र तथा विवरणपत्र स्वीकृत गर्नेदेखि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिइएको कम्पनीले जनाएको छ।

यससँगै लामो समयदेखि चर्चामा रहेको नर्भिकको आईपीओ निष्कासन योजनाले औपचारिक रूपमा सेयरधनीको अनुमोदन पाएको छ। अब कम्पनीले धितोपत्रसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्दै योग्य संस्थागत लगानीकर्ताबाट मूल्यको आशय प्राप्त गर्नुपर्नेछ। त्यसपछि निर्धारण हुने कटअफ मूल्यका आधारमा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढ्नेछ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

रु.४७.८५ करोडभन्दा बढी खुद नाफा

नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीसहित रु.३ अर्ब ४७ करोड कुल आम्दानी गरेको छ। सो अवधिमा कम्पनीको कुल खर्च रु.२ अर्ब ९९ करोड र खुद नाफा रु.४७ करोड ८५ लाखभन्दा बढी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी रु.२ अर्ब ८३ करोड, कुल खर्च रु.२ अर्ब ३६ करोड तथा खुद नाफा रु.४७ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नर्भिकले ओपिडीतर्फ एक लाख ७९ हजार, आइपिडीतर्फ नौ हजार र आकस्मिक सेवातर्फ छ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ।

अस्पतालले ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि अध्यागमन स्वास्थ्य परीक्षण सेवा पनि प्रदान गरेको छ।

रु.३ अर्बको क्यान्सर संस्थान बनाउने

आईपीओको तयारीसँगै नर्भिकले स्वास्थ्य सेवामा ठूलो लगानीसहित व्यवसाय विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। कम्पनीले करिब रु.३ अर्बको अनुमानित लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर संस्थान’ स्थापना गर्ने तयारी गरेको हो।

नेपालमै अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले संस्थान स्थापनाका लागि छुट्टै कम्पनीसमेत स्थापना गरिएको छ। चालु आर्थिक वर्षमै परियोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने योजना छ।

परियोजनाको नेतृत्व सल्लाहकारका रूपमा नर्भिकका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार वसन्तकुमार चौधरी रहनेछन्।

५० शय्याको सिटी हस्पिटल

काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि स्वास्थ्य सेवा विस्तार गर्न नर्भिकले ५० शय्याको ‘नर्भिक सिटी हस्पिटल’ सञ्चालन गर्ने भएको छ।

सिटी हस्पिटलमा ओपिडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी र शल्यक्रिया कक्षलगायतका सेवा उपलब्ध हुनेछन्। त्यहाँ प्याथोलोजी, अल्ट्रासोनोग्राफी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपिक सर्जरी तथा एक्सरेलगायत निदान र उपचार सेवा सञ्चालन गर्ने योजना छ।

नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार सिटी हस्पिटलको सेवा मुख्य नर्भिक अस्पतालको तुलनामा सुलभ र स्थानीय सर्वसाधारणको पहुँचयोग्य बनाइनेछ।

दुई वर्षभित्र फार्मेसीका १०० शाखा

नर्भिकले आगामी दुई वर्षभित्र फार्मेसीका शाखा संख्या १०० पुर्‍याउने लक्ष्यसमेत राखेको छ। हाल काठमाडौं उपत्यकामा नर्भिक फार्मेसियाका १५ शाखा सञ्चालनमा छन्।

चालु आर्थिक वर्षमा उपत्यकाभित्र थप १८, उपत्यकाबाहिर १५ तथा फ्रेन्चाइज मोडलमा ६ शाखा विस्तार गरी कुल शाखा संख्या ५४ पुर्‍याउने योजना कम्पनीको छ।

त्यस्तै, निर्माणाधीन अस्पताल भवन आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरिनेछ। सेवाग्राहीको घरमै स्वास्थ्य सेवा पुर्‍याउन ‘नर्भिक एट होम’ कार्यक्रम पनि सञ्चालन गरिने भएको छ। पहिलो चरणमा होम हेल्थ केयर र ज्येष्ठ नागरिकलक्षित जेरियाट्रिक सेवा सुरु गर्ने योजना छ।

साधारणसभालाई सम्बोधन गर्दै रणनीतिक सल्लाहकार चौधरीले देशको विषम परिस्थितिका बीच पनि संस्थाले उत्साहजनक आर्थिक सूचक हासिल गरेको बताए। उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकको लगानी विस्तार गर्दै लगिने जानकारी दिए।

सञ्चालक मेघा चौधरीले नर्भिकलाई अस्पतालमा मात्र सीमित नराखी आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित र दिगो स्वास्थ्य संस्थाका रूपमा विकास गरिने बताइन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.