काठमाण्डौ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तीव्र र समन्वित रूपमा अघि बढाउने विषयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को बैठकमा विस्तृत छलफल भएको छ।
मंगलबार बसेको कार्यमञ्चको बैठकमा बाढीपछिको खोज, उद्धार तथा राहतमा हालसम्म भएका कामको समीक्षा गर्दै अबको प्राथमिकता पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित गर्ने विषयमा छलफल भएको हो।
बैठकमा कार्यमञ्चका सदस्य तथा साझेदार संस्थाका प्रतिनिधिहरुले खोज, उद्धार र राहतका क्रममा आ–आफ्नो संस्थाले पुर्याएको सहयोगबारे जानकारी गराएका थिए। साथै आगामी चरणमा प्रभावित समुदायको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा तत्काल पुनर्लाभका काममा आफ्नो निकायले गर्न सक्ने सहयोगबारे समेत प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यमञ्चका अध्यक्ष तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अंगका रूपमा काम गर्न आग्रह गरे।
उनले विपद्पछिको पुनर्लाभ र पुनर्निर्माण प्रभावकारी बनाउन सरकारी निकाय, सुरक्षा संयन्त्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच स्पष्ट समन्वय र साझा कार्ययोजना आवश्यक रहेकोमा जोड दिए।
बैठकमा भोटेकोशी बाढीपछि भएका खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अवस्थाबारे प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी गराएका थिए।
बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न मन्त्रालय, विभाग तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
बैठकले बाढी प्रभावित क्षेत्रमा अबको काम राहतमा मात्रै सीमित नराखी पुनर्लाभ, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।