काठमाण्डौ । नबिल बैंक लिमिटेडले आगामी असोज २२ गते बिहिबारका दिन आफ्नो ४२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।
सभामा साधारण सेयरधनीहरूका लागि चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरूलाई चुक्तापूँजीको ८ प्रतिशतका दरले हुने रु. २३ करोड ३४ लाखभन्दा बढी नगद लाभांश दिने प्रस्ताव पनि सभामा लगिँदैछ।
यसका अतिरिक्त बैंकको अधिकृत पूँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने, बोनस सेयर तथा पूँजी वृद्धिका आधारमा नियमावली एवं प्रबन्धपत्रका सम्बन्धित दफाहरू संशोधन गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्तावहरू पेश गरिनेछन्।
सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नुका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
यस्तै सभामा बैंकको आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका मुख्य वित्तीय प्रतिवेदनहरू पारित गर्ने एजेन्डा राखिएको छ।
यसका साथै सहायक कम्पनीहरू नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।