काठमाण्डौ । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दीगो रूपमा सञ्चालन र विस्तार गर्न कठिनाइ भोगिरहेका नेपाली उद्यमीलाई लक्षित गर्दै नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेनर्सले सहकार्य सुरु गरेका छन्।
स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै व्यवसाय विस्तारको चरणसम्म पुर्याउने उद्देश्यले दुई संस्थाले ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरेका हुन्।
भृकुटीमण्डपमा जारी ‘नवौं नेपाल ल्यान्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ का अवसरमा आयोजित कार्यक्रममा चेम्बर र बृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो।
‘नेपालमा व्यवसाय निर्माण : सुरुवातदेखि विस्तारसम्म’ भन्ने अवधारणासहित सुरु गरिएको कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्न चाहनेलाई मात्रै होइन, सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विस्तारयोग्य बनाउनसमेत सहयोग गर्ने जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा व्यावसायिक विचार र सम्भावना प्रशस्त भए पनि तिनलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्न आवश्यक संरचना, मार्गदर्शन र बजार पहुँचको कमी रहेको बताएका थिए।
नयाँ उद्यमीले व्यवसाय सुरु गरेपछि कानुनी, वित्तीय, व्यवस्थापकीय तथा बजारसम्बन्धी विषयमा समयमै उचित परामर्श नपाउँदा जोखिम बढ्ने भएकाले संस्थागत सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।
अर्बन लाइफस्टाइल भेन्चर स्टुडियो’का रूपमा अगाडि बढ्ने
बृहतप्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरमा मात्र सीमित नराखी ‘अर्बन लाइफस्टाइल भेन्चर स्टुडियो’ का रूपमा विकास गर्ने जनाएको छ।
व्यावसायिक अवधारणाको स्पष्टता, उपयुक्त संरचना र सही दिशा तय गर्दै उद्यमीलाई व्यवसाय सुरु गर्ने चरणदेखि विस्तारसम्म सहयोग पुर्याउने संस्थाको लक्ष्य छ।
कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गर्ने योजना अघि सारिएको छ।
पहिलो चरणमा ‘Execution Hub’ मार्फत व्यावसायिक विचारलाई व्यवहारिक कार्यान्वयनमा लैजान सहयोग गरिनेछ। त्यस्तै ‘Experts Clinic’ मार्फत कानुन, वित्त, लगानी र बजार व्यवस्थापनका क्षेत्रमा विशेषज्ञ परामर्श उपलब्ध गराइनेछ।
उद्यमीलाई परियोजना, सम्भावित साझेदार र बजारका अवसरसँग जोड्न ‘Opportunity Access System’ विकास गरिनेछ।
कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्डिङ एजेन्सी तथा लगानी विश्लेषकलगायत सेवा प्रदायकलाई एउटै व्यावसायिक इकोसिस्टममा जोडेर उद्यमीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने कार्यक्रमको लक्ष्य छ।
स्थानीय बजारमा सीमित व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न आवश्यक व्यावसायिक संरचना निर्माणमा पनि कार्यक्रमले सहयोग गर्ने जनाइएको छ।
‘उद्यमशीलता आर्थिक स्वतन्त्रताको आधार’
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताइन्।
उनका अनुसार उद्यमशीलताले आम्दानीको अवसर सिर्जना गर्नुका साथै व्यक्तिलाई आफ्नै योजना र लक्ष्यअनुसार काम गर्ने आधार दिन्छ।
नेपाली युवा तथा महिलालाई उद्यमशीलतामा थप जोड्न आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ उद्यमीको संख्या बढ्दा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने धारणा राखिन्।
बृहतप्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम घटाउन सक्ने बताइन्।
उद्यमीले कम जोखिममा व्यवसाय अगाडि बढाउन सके लगानीकर्ता र साझेदारले समेत प्रतिफल प्राप्त गर्ने र त्यसबाट दीर्घकालीन रूपमा अर्थतन्त्रमा मूल्य सिर्जना हुने उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सको देशव्यापी व्यावसायिक सञ्जाल र बृहतप्रेनर्सको प्राविधिक तथा परामर्श क्षमताबीचको सहकार्यले उद्यमीलाई नयाँ व्यावसायिक अवसरसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
घरजग्गा र निर्माण क्षेत्रमा पनि नयाँ उद्यमको सम्भावना
एक्स्पो आयोजक समितिका संयोजक रोशन भोयडोलले घरजग्गा तथा निर्माण क्षेत्रमा समेत नयाँ उद्यमका पर्याप्त सम्भावना रहेको बताए।
उनका अनुसार निर्माण, आवास तथा घरजग्गासँग सम्बन्धित क्षेत्रमा प्रविधि र नयाँ व्यावसायिक अवधारणाका लागि अवसर रहेकाले युवालाई ती क्षेत्रमा आकर्षित गर्न आवश्यक छ।
बृहतप्रेनर्सका कार्यक्रम व्यवस्थापक सुदर्शन शिवाकोटीले कार्यक्रम कार्यान्वयनका लागि विभिन्न चरणका योजना तयार गरिएको जानकारी दिए।
उनका अनुसार व्यवसायको वर्तमान अवस्था पहिचान गरी सुधारका क्षेत्र पत्ता लगाउन ‘Business Health Check-up’ सञ्चालन गरिनेछ। त्यसैगरी व्यवसायको क्षमता र वृद्धि योजनामा केन्द्रित दुईदिने ‘Business Growth Incubation’ कार्यक्रम सञ्चालन गरिनेछ।
उद्यमीको अवस्थाअनुसार ‘Idea Phase’, ‘Growth Seekers’ र ‘Scale Udyami’ गरी तीन तहको सदस्यता योजना बनाइएको छ। व्यवसायको चरणअनुसार आवश्यक परामर्श, सेवा र अवसर उपलब्ध गराउने यसको उद्देश्य छ।
पाँच सहरमा विस्तार गर्ने योजना
कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ।
ती सहरमा कम्तीमा ३०० भन्दा बढी उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने तथा १ हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य आयोजकले राखेको छ।
आयोजकका अनुसार नेपालमा नयाँ व्यवसायको संख्या बढाउनु मात्र पर्याप्त नभई सुरु भएका व्यवसायलाई टिकाउ, व्यवस्थित र विस्तारयोग्य बनाउनु अहिलेको मुख्य चुनौती हो।
व्यवसाय सुरु गर्न चाहने युवालाई अवधारणादेखि कार्यान्वयनसम्म र सञ्चालनमा रहेका उद्यमीलाई वृद्धि तथा विस्तारसम्म आवश्यक सेवा, परामर्श र अवसरसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको एक्स्पोका सल्लाहकार उत्तम झाले बताए।
‘नवौं नेपाल ल्यान्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’सँगै सुरु भएको कार्यक्रमले विशेषगरी आवास, निर्माण तथा घरजग्गासँग सम्बन्धित नयाँ व्यावसायिक अवधारणालाई समेत अवसरसँग जोड्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।