काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै रहेको अवस्थामा आगो लगाएका छन्।
प्रहरीका अनुसार बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसमा आगजनी गरेका हुन्। घटनाको समयमा बसमा कुनै यात्रु भने थिएनन्।
चालकले बसभित्रैबाट आगो लगाएपछि गाडी ह्वारह्वार्ती बल्न थालेको थियो। आगलागीको सूचना पाएलगत्तै दमकल घटनास्थल पुगेको र आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आफैंले लगाएको आगोबाट चालक लामा जलेर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
चालकले बसमा किन आगो लगाए भन्ने कारण अझै स्पष्ट भइसकेको छैन।
यद्यपि, ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र कारणबारे थप विवरण संकलन गर्ने काम जारी रहेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।