काठमाण्डौ । जापानको राजधानी टोकियोलाई लक्षित गर्दै शक्तिशाली ‘दुजुआन’ आँधी अघि बढेपछि विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिम बढेको छ। मौसम अधिकारीहरूले आँधीका कारण केही स्थानमा रेकर्डस्तरको वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
दुजुआन आँधीको अधिकतम हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुगेको छ भने आँधीका झोक्काको गति प्रतिघण्टा १९४ किलोमिटरसम्म मापन गरिएको छ। आँधीको प्रभावका कारण तोकाई क्षेत्रमा ३५० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आँधीको जोखिमलाई ध्यानमा राख्दै जापानका पाँच प्रमुख प्रशासनिक क्षेत्रमा गरी करिब १६ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा सम्भावित बाढी, पहिरो र तीव्र हावाबाट जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
कानागावामा पहिरोका कारण एउटा घर माटो तथा भग्नावशेषले पुरिएपछि उद्धारकर्मीहरूले एक महिला त्यसमा जीवितै पुरिएको हुन सक्ने आशंका गरेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ।
आँधीको प्रभाव यातायात क्षेत्रमा समेत परेको छ। खराब मौसमको जोखिमका कारण करिब ३०० उडान रद्द गरिएको छ भने केही रेल सेवा पनि रोकिएको छ।
यसअघि चिबा क्षेत्रमा समेत भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो। पछिल्लो आँधीका कारण जापानका विभिन्न क्षेत्रमा थप भारी वर्षा तथा प्राकृतिक विपत्तिको जोखिम बढेकाले स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन तथा मौसमसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।