काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन संवाद गर्दै नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
मंगलबार बिहान भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै यस्ता प्रवृत्ति नेपाल सरकारका लागि स्वीकार्य नरहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुने अनावश्यक आर्थिक भार तथा अन्यायपूर्ण व्यवहार अन्त्य गर्न दुवै देशबीच संयुक्त पहल आवश्यक रहेको बताए। उनले समस्याको दीर्घकालीन समाधानका लागि प्रभावकारी संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा समेत जोड दिए।
शाहको धारणा सुनेपछि मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट तथा बिचौलिया प्रथाको विपक्षमा रहेको स्पष्ट पारे। उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
दुवै प्रधानमन्त्रीबीचको संवादले मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधन तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा दुई देशबीच सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।