काठमाडौंको त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ–महासंघले माग गरेका छन्।
६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनालाई सामान्य चालक–ट्राफिक विवादका रूपमा मात्र नहेरी कानुन कार्यान्वयन गर्ने निकायको कार्यशैली, व्यवहार र समग्र सडक शासन प्रणालीसँग जोडेर अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले घटनाको सम्पूर्ण पक्ष छानबिन गर्न सरोकारवाला सम्मिलित न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।
उनीहरूले विवाद सुरु भएदेखि आत्मदाहसम्मको घटनाक्रम, घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क विवरण तथा सम्बन्धित प्रहरी अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।
संयुक्त विज्ञप्तिअनुसार असोज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा.५ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुगेका बेला मोटरसाइकलका कारण सडकमा अवरोध भएपछि चालक लामाले हर्न बजाएका थिए।
हर्न बजाएको विषयलाई लिएर ट्राफिक प्रहरीले बस रोकी कागजात मागेको र कारबाही प्रक्रिया अघि बढाउन खोजेको दाबी विज्ञप्तिमा गरिएको छ। त्यसपछि थप ट्राफिक प्रहरी घटनास्थलमा पुगेको, बसलाई राहदानी विभागअगाडि रोकी यात्रु ओरालिएको तथा चालकलाई करिब दुई घण्टासम्म नियन्त्रणमा राखिएको व्यवसायी तथा श्रमिक संगठनहरूको दाबी छ।
पछि चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लैजान खोजिएको र लामाले त्यसको प्रतिवाद गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनापछि ट्राफिक प्रहरी कार्यालयबाट सवारीधनीलाई फोन गरी चालकलाई बग्गीखाना पठाउन भनिएको तथा सवारीधनीले चालकसँग सम्पर्क गर्दा लामाले आफूले गल्ती नगरेको भन्दै बग्गीखाना जान अस्वीकार गरेको बताइएको छ।
विज्ञप्तिमा सवारीधनीलाई उद्धृत गर्दै लामाले ट्राफिक प्रहरीबाट मानसिक दबाब र हैरानी खेपेको बताएका थिए। उक्त अवस्थाबारे सम्बन्धित ट्राफिक अधिकारी तथा कार्यालयलाई जानकारी गराइए पनि केही समयपछि लामाले बसको ढोका बन्द गरी आफ्नै शरीरमा आगो लगाएको र बससमेत जलेको उल्लेख छ।
व्यवसायी तथा श्रमिक संगठनहरूले चालक करिब दुई घण्टा नियन्त्रणमा रहेको दाबी र त्यसपछि भएको आत्मदाहको घटनाले गम्भीर प्रश्न उठाएको बताएका छन्। चालकलाई आत्मदाहसम्म पुग्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने विषयमा तथ्यपरक र स्वतन्त्र अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।
उनीहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र जलेर पूर्ण रूपमा क्षति भएको सवारीसाधनका धनीलाई समेत क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
त्यस्तै, सबै यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता गरेर मात्रै काममा लगाउने व्यवस्था गर्न तथा सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा आबद्ध गराउन माग गरिएको छ।
ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी तथा कानुनी र प्रक्रियागत समस्याबारे तत्काल उजुरी गर्न सकिने २४ घण्टे हेल्पलाइन तथा सुनुवाइ प्रणाली स्थापना गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।
सडकमा ट्राफिक प्रहरीले गर्ने चेकजाँच, कारबाही र चालकसँगको व्यवहार कानुनी प्रक्रिया तथा आचारसंहिताअनुसार भए–नभएको नियमित अनुगमन र छानबिन गर्ने संयन्त्र बनाउनुपर्ने माग पनि उनीहरूको छ।
विज्ञप्तिमा ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउन, चेकजाँच तथा कारबाहीको अनुगमन प्रभावकारी बनाउन तथा सडक र सवारीसम्बन्धी कानुनअनुसार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको अधिकारको पुनरावलोकन गर्नसमेत माग गरिएको छ।
यातायात श्रमिकको कार्यस्थल र मानसिक सुरक्षालाई पनि यातायात सुरक्षाकै अभिन्न विषयका रूपमा राज्यको नीतिमा समेट्नुपर्ने उनीहरूको माग छ। साथै, देशभर आवश्यक बसबिसौनी, यात्रु चढ्ने–ओर्लने स्थान, शौचालय, भोजनालय तथा विश्रामस्थललाई व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउनुपर्ने बताएका छन्।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्न छ वटै महासंघ तथा संघ–संगठनका अध्यक्ष सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको छ। माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक र कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।