काठमाण्डौ। मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार असोज ८ गते बेलुकादेखि नै वर्षाको गतिविधि बढ्न सक्नेछ।
महाशाखाले असोज ९ देखि ११ गतेसम्मका लागि विशेष सावधानी अपनाउन आग्रह गर्दै विशेष मौसम बुलेटिन जारी गरेको छ।
महाशाखाका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ८८‘डीप डिप्रेसन’८८मा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।
यस प्रणालीको प्रभावका कारण बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ।
सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।
भारी वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने महाशाखाले जनाएको छ। नदी तथा खोला आसपास भइरहेका निर्माण कार्यमा जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले जोखिम नक्सामा सुन्तला रङले देखाइएका क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा पहेँलो रङका क्षेत्रमा मौसम तथा बाढीसम्बन्धी पछिल्ला सूचना निरन्तर हेर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।