काठमाण्डौ । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ। संघको ३०औँ तथा ३१औँ वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गरेको हो।
काठमाण्डौमा सम्पन्न साधारणसभाले सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ।
त्यस्तै, नेपाल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया उपाध्यक्ष र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ महासचिवमा चयन भएका छन्।
नवनिर्वाचित कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेंद्र इवाहाङ तथा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी निर्वाचित भएका छन्।
साधारणसभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी दिनमा वित्तीय संस्थाहरूबीच समन्वय, सहकार्य र संस्थागत एकता अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले सदस्य संस्थाहरूका साझा मुद्दा, समस्या तथा नीतिगत सरोकारलाई प्रभावकारी रूपमा सम्बन्धित निकायसमक्ष उठाउने जनाएको छ। वित्तीय क्षेत्रको समग्र विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग थप प्रभावकारी र रचनात्मक सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
संघले निवर्तमान अध्यक्ष सुनील पन्तले आफ्नो कार्यकालमा संस्थालाई थप सुदृढ, प्रभावकारी र संस्थागत रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै आभार व्यक्त गरेको छ।
पन्त आगामी दिनमा निवर्तमान अध्यक्षका रूपमा संघसँग आबद्ध रही नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने संघले जनाएको छ।
संघले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, सदस्य संस्था तथा सम्पूर्ण सरोकारवालाबाट निरन्तर सहयोग, सुझाव र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।