काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रतियोगितालाई लक्षित गरी विशेष ब्रान्ड अभियान सुरु गरेको छ।
एनपीएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्स्ट्रिमले प्रतियोगिताको सुरुवाती चरणमै व्यापक ब्रान्डिङ अघि बढाएको हो।
कम्पनीले एनपीएलका खेल आयोजना हुने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरबाहिर रहेका ७ वटा प्रवेशद्वारलाई ७ प्रायोजित टोलीसँग समर्पित गर्दै विशेष गेट अभियान सञ्चालन गरेको जनाएको छ।
प्रत्येक गेटलाई सम्बन्धित टोलीको पहिचान र एक्स्ट्रिमको ब्रान्डिङसँग जोडेर तयार गरिएको छ। प्रतियोगिता सुरु हुनुअघि नै यस्तो अभियान सञ्चालन गर्ने पहिलो ब्रान्ड आफू रहेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार यस अभियानमार्फत क्रिकेटप्रेमी तथा समर्थकले मैदान प्रवेश गर्नुअघि नै एनपीएलका ७ टोलीको उपस्थिति र माहोल अनुभव गर्न सक्नेछन्।
समर्थकलाई आफूले मन पराएको टोलीसँग भावनात्मक रूपमा जोड्ने र एनपीएलको वातावरणलाई थप उत्सवमय बनाउने उद्देश्यले गेटहरू तयार गरिएको एक्स्ट्रिमले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले एनपीएलको तेस्रो संस्करणमा काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा सम्झौता गरेको छ।
नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण र समर्थकको उत्साहलाई लक्षित गर्दै कम्पनीले विभिन्न क्षेत्रमा पोल ब्यानर, गेट ब्रान्डिङ, होर्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत प्रचार अभियानसमेत सञ्चालन गरिरहेको छ।
कम्पनीले एनपीएल सुरु हुनुअघि नै प्रतियोगिताको चर्चा र उत्साहलाई व्यापक बनाउने उद्देश्यले बहुआयामिक प्रचार रणनीति अपनाएको जनाएको छ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्ट्रिमले एनपीएलको माहोललाई व्यापक बनाउनुका साथै नेपाली खेलकुदसँग ब्रान्डलाई जोड्ने सिर्जनात्मक तथा प्रवर्द्धनात्मक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
कम्पनीका अनुसार यस्ता सहकार्यले खेलाडी, समर्थक र ब्रान्डबीचको सम्बन्ध थप विस्तार गर्नुका साथै व्यवसायलाई खेलकुदमार्फत उपभोक्तासँग सिर्जनात्मक रूपमा जोडिने अवसर प्रदान गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।