काठमाण्डौ । नेकपाको केन्द्रीय संयोजन समिति बैठकमा नेता झलनाथ खनालले २२ बुँदे फरक मत प्रस्तुत गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ।
खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालको राजीनामा माग गर्दै महाधिवेशनको स्पष्ट कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव अघि सारेका छन्।
पार्टीले यसअघि मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो। तर उक्त कार्यतालिका प्रभावित भइसकेको छ। प्रवक्ता प्रकाश ज्वालाका अनुसार अब महाधिवेशनसम्बन्धी थप निर्णय सचिवालय बैठकले गर्नेछ। दसैँअघि बस्ने सचिवालय बैठकले यसबारे टुंगो लगाउने तयारी छ।
‘एक जना संयोजक पर्याप्त’
खनालले राष्ट्रिय महाधिवेशन आयोजक समितिको नेतृत्व र समन्वयका लागि एक जना संयोजक पर्याप्त हुने भन्दै सहसंयोजक पद हटाउन माग गरेका छन्।
उनले अहिलेको संयोजक–सहसंयोजक संरचनाले विगतमा दुई पार्टीबीच भएको एकताको मोडेल स्मरण गराउने र अहिले २६ घटकको एकीकरणपछिको संरचनामा त्यो मोडेल उपयुक्त नहुने तर्क गरेका छन्।
हाल सहसंयोजकमा माधव नेपाल छन्। खनाल र नेपालबीचको असहमति भने पार्टी एकताअघिदेखिकै रहेको बताइन्छ।
प्रस्ताव सार्वजनिक भएकोमा असन्तुष्टि
प्रवक्ता ज्वालाले खनालले बैठकमा आफ्ना धारणा र सुझाव राख्नु सामान्य प्रक्रिया भएको बताएका छन्। उनका अनुसार बैठकमा महाधिवेशनलाई व्यवस्थित बनाउने, पार्टी अभियान अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो।
तर पार्टीका केही नेताले खनालले बैठकमा प्रस्तुत गरेको प्रस्ताव सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाएका छन्।
एक नेताका अनुसार बैठकमा राखिएको प्रस्ताव पार्टीभित्रै नोटका रूपमा रहनुपर्ने थियो। उनले खनालले यसअघि पनि विभिन्न बैठकमा फरक प्रस्ताव ल्याउँदै आएको टिप्पणी गरेका छन्।
पार्टी एकता प्रक्रियाका क्रममा संयोजक र सहसंयोजकको व्यवस्था स्वीकार गरिसकेपछि अहिले उक्त संरचना नै हटाउनुपर्ने प्रस्ताव ल्याउनु उपयुक्त नहुने ती नेताको तर्क छ।
उनका अनुसार १८ बुँदे सहमतिमा महाधिवेशन नहुँदासम्म संयोजक र सहसंयोजकको व्यवस्था कायम रहने उल्लेख गरिएको थियो।
अन्तरिम विधानमाथि पनि प्रश्न
खनालले फरक मतमा पार्टीको अन्तरिम विधान २०८३ माथि पनि गम्भीर प्रश्न उठाएका छन्।
उनका अनुसार विधानका धारा १२, १३ र १४ ले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको लक्ष्यलाई सीमित गर्छन्। उनले ती धारालाई खारेज वा निष्प्रभावी बनाउनुपर्ने माग गरेका छन्।
खनालले पार्टीमा दुई व्यक्तिको केन्द्रित नेतृत्वको साटो कमिटी प्रणाली, सामूहिक नेतृत्व र सामूहिक निर्णयको अभ्यास स्थापित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
यससँगै महाधिवेशनको कार्यतालिका, नेतृत्व संरचना र अन्तरिम विधानका विषयमा नेकपाभित्रको बहस थप चर्किने संकेत देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।