काठमाण्डौ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ। निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको हो।
उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त क्षेत्रमा थप अघि बढ्न रोक लगाइएको छ।
माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ। कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ।
भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ। प्रशासनका अनुसार चिनियाँ मूलका ती पर्यटक युरोपेली नागरिक रहेको जानकारी प्राप्त भएको छ।
माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो।
समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको इम्जा छे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो। स्थानीय रूपमा इम्जा छे नामले चिनिने यो क्षेत्र खुम्बु हिमाली भूभागमा पर्छ। दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ।
प्रतिकूल मौसमका कारण उच्च क्षेत्रमा थप पर्यटक तथा पदयात्री जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको प्रशासनले जनाएको छ। हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ।
उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरेको छ।
गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको माथिल्लो भूभाग हिमनदी, हिमाल तथा गहिरा उपत्यकासहितको उच्च जोखिमयुक्त हिमाली क्षेत्रमा पर्छ। इम्जा खोला प्रणालीसमेत यस क्षेत्रको महत्वपूर्ण जलाधार हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।