काठमाण्डौ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता तथा सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ।
प्रधानमन्त्री शाह महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय समुदायमा नेपालको उपस्थिति थप प्रभावकारी बनेको बताए।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना भइरहेको छ।
प्रधानमन्त्री शाहले महासभाको ‘जनरल डिबेट’ मा सेप्टेम्बर २४ मा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले गत महिना भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै त्यसबाट भएको जनधनको क्षति, पूर्वाधारमा परेको असर र जनजीवनमा देखिएको कठिनाइबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
निमित्त सचिव ढकालका अनुसार प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको प्रभाव, हिमनदी तथा ‘पर्माफ्रस्ट’ पग्लिँदा बढिरहेको हिमपहिरो, बाढी र पहिरोजस्ता जोखिमबारे पनि सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग सहकार्यमा रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति व्यक्त सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनले भोटेकोशी विपद्ले नेपालमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै कायम रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग पनि भेटवार्ता गरेका थिए। भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ।
महासभाका अवसरमा आयोजना भइरहेका अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, जी–७७ तथा चीनलगायतका मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भइरहेको निमित्त सचिव ढकालले जानकारी दिए।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा सम्बोधन गर्नुका साथै छिमेकी मुलुकसहित विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरिरहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।