काठमाण्डौ । मनाङको नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएका छन्।
मनाङ प्रशासनका अनुसार आइतबार बिहान हिमपहिरो गएको हो। घटनापछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा परेर १० जना बेपत्ता भएको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनीहरू सबै नेपाली भएको विवरण आए पनि त्यसको पूर्ण पुष्टि हुन बाँकी रहेको उनले बताएका छन्।
उद्धारका लागि एउटा हेलिकप्टरले हिमपहिरो प्रभावित क्षेत्रमा उद्धार टोली उतारेको छ। थप उद्धार टोली तथा आवश्यक जनशक्ति पुर्याउन अर्को हेलिकप्टरसमेत परिचालन गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार सम्पर्कविहीन भएका सबैजना अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत उक्त क्षेत्रमा पुगेका थिए।
हिमपहिरो गएको स्थान दुर्गम तथा उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ देखिएको छ। यद्यपि सुरक्षाकर्मी तथा उद्धार टोलीले हेलिकप्टरको सहयोगमा सम्पर्कविहीनहरूको खोजी जारी राखेका छन्।
सम्पर्कविहीन व्यक्तिहरूको विस्तृत परिचय तथा घटनाको यकिन विवरण भने अझै सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।