काठमाण्डौ । अविरल वर्षाका कारण ललितपुरको धापाखेलमा पहिरो जाँदा साढे दुईतले घर पूर्ण रूपमा ढलेको छ ।
सोमबार बिहान करिब ६ः३५ बजे ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर पहिरोका कारण ढलेर खोलामा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
परिसरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार पहिरोले घर ढल्दा खोला समेत थुनिएको छ । उक्त क्षेत्रमा आइतबारदेखि नै पहिरो खस्न सुरु भएको थियो ।
आइतबार दिउँसो करिब १ः४० बजे घरको भुइँतलासँग जोडिएको ट्रसबाट बनाइएको किचन करिब २० मिटर तल खसेको थियो । त्यसपछि जोखिम बढेको देखिएपछि घरमा बस्दै आएका तीनजना आइतबार नै आफन्तको घरमा सरेका थिए ।
परिवार समयमै सुरक्षित स्थानमा सरेकाले घटनामा मानवीय क्षति भएको छैन ।
घटनापछि प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चारजनाको टोली घटनास्थलमा खटिएको छ । ललितपुर महानगर प्रहरीको टोली पनि परिचालन गरिएको छ ।
घर ढलेपछि त्यहाँ रहेका सामानहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । घटनाको मुचुल्का तथा थप विवरण संकलनका लागि सातदोबाटो प्रहरी वृत्तबाट पनि टोली खटिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।