काठमाण्डौ । मनाङमा गएको हिमपहिरोमा परेका १४ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनास्थलबाट फेला परेका दुई जनाको शव भने पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा टुरिस्ट कम्पनीबाट विभिन्न कामका लागि गएका २७ जनामध्ये ११ जना सम्पर्कमा आएका छन् । दुई जनाको शव फेला परेको छ भने बाँकी १४ जनासँग अझै सम्पर्क हुन सकेको छैन ।
आइतबार साँझ घटनास्थलबाट दुई जनाको शव हेलिकप्टरमार्फत मनाङ सदरमुकाम च्यामे ल्याइएको थियो । ती शव सोमबार बिहान पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रशासनले जनाएको छ ।
हिमपहिरोमा हिमालयन होलिडेज र एक्सपोर्टेसन कम्पनीका कामदार परेका हुन् । उनीहरू बेस क्याम्प निर्माण, डोरी टाँग्ने लगायतका कामका लागि हिमाली क्षेत्रमा पुगेका थिए ।
सम्पर्कविहीनमध्ये हिमालयन होलिडेजका १२ जना र एक्सपोर्टेसन कम्पनीका दुई जना कामदार रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।