काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र सुरक्षित बनाउन जोखिम तथा सुशासनमा आधारित नयाँ नियमन रणनीति अपनाइएको बताएका छन्।
प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले बजार आधुनिकीकरणका लागि संस्थागत संरचना र प्रणालीगत सुधार अघि बढाइएको जानकारी दिए। उनले दोस्रो बजारमा सेयर तथा डेरिभेटिभ कारोबारको सुनिश्चितताका लागि सेन्ट्रल काउन्टर पार्टी (सीसीपी) आवश्यक भइसकेको बताए।
उनका अनुसार सीसीपीका लागि नेप्सेले छुट्टै संस्था स्थापना गर्न वा सिडिएससीको क्षमता विस्तार गरी जिम्मेवारी दिन सकिने विषयमा अध्ययन भइरहेको छ।
अध्यक्ष भट्टले उच्च जोखिम भएका क्षेत्रमा कडा नियमन र सुपरीवेक्षण गर्ने नीति लिइएको बताउँदै बलियो सुशासन भएका कम्पनीलाई मात्र पुँजीबजारमा प्रवेश गराउने धारणा राखे। साथै, निक्षेपकर्ताको जोखिम शेयर लगानीकर्तामा सर्न नदिन नेपाल राष्ट्र बैंकसँग समन्वय भइरहेको उनले बताए।
लगानीकर्ता संरक्षणका लागि क्षतिपूर्तिभन्दा कम्पनीको वित्तीय अवस्था, भावी योजना र जोखिमसम्बन्धी सूचना पूर्ण, निरन्तर र तत्काल उपलब्ध गराउने प्रणालीमा जोड दिइने उनले बताए। पूर्वसूचनाका आधारमा हुने अनुचित लाभ रोक्ने तथा सुधारलाई क्रमिक रूपमा अघि बढाउने नीति रहेको उनको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।