काठमाण्डौ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले महिलामाथि भइरहेको हिंसालाई देशकै गम्भीर समस्या तथा ‘राष्ट्रिय लज्जा’को संज्ञा दिएका छन्।
जोहानेसबर्गनजिकैको एकुरहुलेनी नगरपालिकामा पछिल्लो समय लगातार महिलाका शव फेला परेपछि राष्ट्रपति रामाफोसाले यस्तो प्रतिक्रिया दिएका हुन्।
रोयटर्सका अनुसार पूर्वी जोहानेसबर्गमा पर्ने एकुरहुलेनी नगरपालिकामा जुलाईयता ११ जना महिलाका शव फेला परेका छन्। मृतकमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् भने केही शवमा यौन हिंसाका संकेतसमेत देखिएको बताइएको छ।
पछिल्ला घटनाले दक्षिण अफ्रिकाभर महिला सुरक्षाबारे गम्भीर चिन्ता र आक्रोश बढाएको छ।
टेलिभिजन सम्बोधनमार्फत राष्ट्रपति रामाफोसाले केही महिलाका शव अझै सरकारी शवगृहमा पहिचानको प्रतीक्षामा रहेको बताए। उनले घटनाप्रति राष्ट्रिय शोक र आक्रोश व्यक्त गर्दै महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकार अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
प्रहरीका अनुसार हालसम्म फेला परेका सबै शव एउटै व्यक्तिले हत्या गरेको पुष्टि हुने प्रमाण भेटिएको छैन। यद्यपि अनुसन्धानका सबै सम्भावना खुला राखिएका छन्।
तीनवटा घटनासँग सम्बन्धित व्यक्तिहरू पक्राउ परिसकेको र बाँकी घटनाको पनि गहन अनुसन्धान जारी रहने राष्ट्रपति रामाफोसाले बताएका छन्।
दक्षिण अफ्रिकामा हत्याको दर उच्च रहँदै आएको छ। प्रहरी अनुसन्धानमा स्रोतसाधनको अभाव तथा भ्रष्टाचारजस्ता समस्याले थप चुनौती सिर्जना गरेको रोयटर्सले जनाएको छ। रिपोर्टअनुसार करिब १० प्रतिशत हत्याका घटना मात्रै समाधान हुने गरेका छन्।
महिलामाथि हुने हिंसा नियन्त्रणका लागि सरकारले यसअघि पनि विभिन्न प्रतिबद्धता जनाउँदै आएको छ। तर पछिल्ला घटनाले महिला सुरक्षा, प्रहरी अनुसन्धानको प्रभावकारिता तथा न्याय प्रणालीको क्षमतामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।