काठमाण्डौ । पछिल्लो बाढी र पहिरोका कारण मनाङको सडक यातायात प्रभावित भएपछि डुम्रे–बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा ल्याउन तीव्र रूपमा काम भइरहेको छ। सडक विभागले सबै अवरोध हटाउन सके शुक्रबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
विभागका अनुसार चामेको रामबजार क्षेत्रमा खसेको पहिरो हटाएर सवारी सञ्चालन सुरु भइसकेको छ। तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा भने अझै पहिरो पन्छाउने काम जारी छ।
फापरखेत क्षेत्रमा सडक सञ्चालनका लागि स्थानीयको खेत काट्नुपर्ने अवस्था आएपछि क्षतिपूर्तिको विषय उठेको थियो। उक्त विषयमा स्थानीय तह, जिल्ला प्रशासनलगायत निकायसँग समन्वय गरी समस्या समाधान गरिएको विभागले जनाएको छ।
त्यस्तै, खोत्रो क्षेत्रमा सडक बगेपछि वैकल्पिक रूपमा ब्याक कटिङ र टेवा पर्खाल निर्माण गरेर सडक खोल्ने तयारी भइरहेको छ। खोत्रोनजिकैको भिरमा नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ गर्ने तयारीसमेत गरिएको छ।
बगरछाप क्षेत्रमा थुप्रिएको लेदो र पहिरो हटाउने काम पनि जारी छ। बाढीले बगाएका काठेपुलको स्थानमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी गरिएको विभागले जनाएको छ।
सडक विभागका अनुसार मौसम अनुकूल रहे र थप अवरोध नआए शुक्रबारसम्म डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।