काठमाडौँ। इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलसहित सबैजसो पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ।
आईओसीको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा, मट्टीतेल १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धन १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ। यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेको निगमले जनाएको छ।
मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने बताइएको छ। बाढीपहिरोको असर, आउँदै गरेको चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य यथावत राखिएको निगमको भनाइ छ।
निर्णयअनुसार पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ भने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।