काठमाडौं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ।
यात्रुको सुरक्षा बढाउन ट्राफिक प्रहरीले रुट परमिट, आवश्यक कागजात तथा सवारीको अवस्थासँगै अग्निनियन्त्रक यन्त्रको समेत नियमित अनुगमन गर्ने जनाएको छ। तोकिएको रुटबाहिर वा आवश्यक कागजातबिना सञ्चालन हुने सार्वजनिक सवारीमाथि पनि कडाइ गरिने भएको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार विद्युतीय तथा प्राविधिक समस्या वा इन्धन चुहावटका कारण हुनसक्ने आगलागी प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सार्वजनिक सवारीमा प्रयोगयोग्य अग्निनियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था लागू गर्न लागिएको हो।
ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले सवारीको अवस्था, चालकको क्षमता, कागजात, रुट परमिट तथा सुरक्षा उपकरण नियमित जाँच गरिने बताए। मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे।
ट्राफिक प्रहरीले सार्वजनिक सवारीधनी तथा व्यवसायीलाई सुरक्षा मापदण्ड पालना गर्न, सवारीको नियमित परीक्षण र मर्मतसम्भार गर्नसमेत आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।