काठमाडौं। अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत समूह पठाउन लागेको खबर सार्वजनिक भएपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ४.४ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३१ अमेरिकी डलरमा कारोबार बन्द भयो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८७ डलरमा पुगेको छ।
अमेरिकी अधिकारीहरूले द वाल स्ट्रिट जर्नललाई बताएअनुसार अमेरिकाले थप मरीन कोर्प्सका पानीजहाज तथा १० हजारसम्म अतिरिक्त सैनिक पनि मध्यपूर्वमा पठाउँदैछ। ती सैनिक तथा सैन्य सामग्री नोभेम्बरको अन्त्यसम्ममा उक्त क्षेत्रमा पुग्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन्।
मध्यपूर्वबाट कच्चा तेलको आपूर्ति युद्धअघि कै स्तरमा लगभग फर्किसकेको भए पनि तेलको मूल्य बढिरहेको छ। तर यो सुधार कमजोर अवस्थामा रहेको बताइएको छ। यसै साता होर्मुज जलडमरूमध्य हुँदै पारवहन गर्ने क्रममा कम्तीमा तीनवटा ट्याङ्करमाथि आक्रमण भएको समुद्री सुरक्षा निगरानी गर्ने निकायहरूले जनाएका छन्।
यसैबीच, मध्यपूर्वबाट हुने इन्धनको आपूर्ति भने अझै सीमित छ। युक्रेनी आक्रमणका कारण रुसका तेल प्रशोधन केन्द्रहरू प्रभावित भएपछि मस्कोले डिजेल निर्यातमा प्रतिबन्ध लगाएको छ। यससँगै विश्वले इन्धन आपूर्तिमा ठूलो अवरोधको सामना गरिरहेको छ। इरान र उसका सहयोगी हुथीहरूले पनि मध्यपूर्वका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।