काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवामा छुट उपलब्ध गराउने उद्देश्यले भारतको नयाँदिल्लीस्थित प्रतिष्ठित मेदान्त अस्पतालसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले नयाँदिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ वटा शाखामा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यो छुट अस्पतालको ओपीडी सेवा, आईपीडी सेवा तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ।
ओपीडी सेवाअन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी सेवामा छुट उपलब्ध हुनेछ। त्यसैगरी आईपीडी सेवातर्फ बेड शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवामा समेत छुट पाउने व्यवस्था गरिएको छ।
यो सुविधा लिन चाहने बैंकका ग्राहकले अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ।
बैंकका अनुसार सम्झौताबाट आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, भारतमा उपचार तथा स्वास्थ्य परीक्षण गराउने ग्राहकले मेदान्त अस्पतालका विभिन्न सेवामा विशेष छुटको लाभ लिन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।