काठमाण्डौ । तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति कान्छी बजारस्थित जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर उनको खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।
प्रहरीका अनुसार थारुले बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेका थिए। राति करिब २ बजे बालिकाकी हजुरआमाले उनलाई ओढाउन खोज्दा बालिका नभेटिएपछि परिवार र छिमेकीलाई खबर गरिएको थियो। त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो।
सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास र स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्न सकिने केही आधार फेला पारेको थियो।
बालिका अपहरण भएको करिब ३८ घण्टापछि शुक्रबार साँझ ७ बजे कान्छी बजारस्थित जंगलबाट प्रहरीले उनलाई सकुशल उद्धार गरेको थियो। बालिका फेला परे पनि घटनामा संलग्न भनिएका थारु भने फरार थिए।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले थारुको पहिचान गरेको जनाएको छ। त्यसपछि उनको खोजी तीव्र पारिएको थियो। जंगलमा लुकेर बसेको आशंकामा प्रहरीले विभिन्न स्थानमा निगरानी र खोजी गरिरहेको थियो। सोही क्रममा आइतबार राति करिब १ बजे थारुलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले बालिका हाल सुरक्षामा रहेको र स्वास्थ्य जाँचसमेत गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार उनका दाजु मजदुरी गर्छन् भने भाउजू गृहिणी हुन्। बालिका हजुरबुवा–हजुरआमासँग बस्दै आएकी थिइन्। उनका अनुसार बालिका घरमा चार छोरी र एक छोरामध्ये जेठी हुन्।
उद्धारपछि बालिकाले आफूलाई जंगलमा लैजाने व्यक्तिलाई नचिनेको बताएकी छन्। उनले आफूलाई दुर्व्यवहार गरिएको संकेतसमेत गरेकी छन्। प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएको र तत्काल गम्भीर स्वास्थ्य समस्या नदेखिएको जनाएको छ।
घटनाको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले प्रहरीको पहिलो प्राथमिकता बालिकालाई सकुशल उद्धार गर्नु रहेको बताए।
उनका अनुसार अपहरणमा संलग्न व्यक्ति आपराधिक गतिविधिमा संलग्न हुन सक्ने र मादक पदार्थ सेवन गरेको अवस्थामा रहेकाले बालिकाको सुरक्षाप्रति प्रहरी थप सतर्क थियो। स्थानीयको सहयोगमा खोजी अघि बढाइएको र अन्ततः बालिकालाई सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थारु पक्राउबाट बच्न भाग्ने प्रयास गरेपछि गोली चलाएर नियन्त्रणमा लिइएको हो। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।