काठमाण्डौ । फ्लाई दुबईका भारतीय क्याप्टेन स्मित मच्छारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी इजरायली स्वतन्त्रता दिवसको विशेष समारोहमा सहभागी हुन निम्तो दिएका छन्।
नेतन्याहुले मच्छारसँग टेलिफोन संवाद गर्दै उनको साहस र विमानमा सवार यात्रुको ज्यान जोगाउन खेलेको भूमिकाको प्रशंसा गरेका हुन्। उनले मच्छारलाई इजरायलको स्वतन्त्रता दिवसमा उत्सवको ज्योति बाल्न निम्तो दिएका छन्।
नेतन्याहुले यस्तो सम्मान सामान्यतया इजरायली नागरिकका लागि आरक्षित हुने उल्लेख गर्दै मच्छारलाई विशेष सम्मान दिन चाहेको बताएका छन्। उनले मच्छारलाई श्रीमती र छोराछोरीसहित इजरायल आउनसमेत आग्रह गरेका छन्।
ककपिटमै सहपाइलटको आक्रमण
दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको एफजेड–१०७३ उडानका क्रममा मच्छारमाथि सहपाइलट ओमानका हमाम अल हमामीले ‘क्र्यास एक्स’ भनिने आपत्कालीन औजारबाट आक्रमण गरेको बताइएको छ।
आक्रमणमा घाइते भए पनि मच्छारले विमानलाई नियन्त्रणमा लिएर साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएका थिए। विमानमा रहेका १७४ जनाको ज्यान जोगाएपछि उनको अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भइरहेको छ।
नेतन्याहुसँगको कुराकानीमा मच्छारले आक्रमणको क्षणदेखि विमानको नियन्त्रण पुनः लिन गरेको संघर्षबारे विस्तृत रूपमा बताएका छन्।
उनका अनुसार उडान सामान्य रूपमा चलिरहेको थियो। सहपाइलटले प्रार्थना गर्ने बताएपछि आफूले अगाडितिर ध्यान दिएको र केही मिनेटपछि पछाडिबाट टाउकोमा अचानक ठूलो प्रहार भएको उनले बताए।
सुरुमा विमानमै गम्भीर समस्या आएको ठाने पनि लगातार प्रहार भएपछि ककपिटमै रहेका सहपाइलटले आफूलाई आक्रमण गरिरहेको थाहा पाएको मच्छारले बताए।
आक्रमणका कारण दृष्टि धमिलो भए पनि विमान तीव्र रूपमा तल झरिरहेको महसुस गरेको उनले बताए। त्यसपछि अन्तिम प्रयास गर्दै ककपिटको ढोकासम्म पुगेको र ढोका खोलेपछि बाहिर रहेका चालक दलका सदस्यले विमानको नियन्त्रण सम्हाल्न सफल भएको उनले नेतन्याहुलाई सुनाए।
‘त्यो क्षण तपाईंले धेरैको ज्यान बचाउनुभयो’
मच्छारको अनुभव सुनेपछि नेतन्याहुले उनको साहस र कठिन अवस्थामा निर्णय लिन सक्ने क्षमताको प्रशंसा गरे।
उनले मच्छारले आफू मात्र नभई विमानमा रहेका धेरै यात्रुको ज्यान बचाएको भन्दै उनलाई इजरायल, भारत र विश्वकै नायकका रूपमा सम्मान गरे।
नेतन्याहुले आगामी स्वतन्त्रता दिवसमा मच्छार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्सवको ज्योति बाल्न निम्तो दिने बताए। उनका अनुसार यो सम्मान सामान्यतया इजरायली नागरिकका लागि मात्र हुने भए पनि मच्छारको साहसका कारण उनलाई विशेष रूपमा आमन्त्रण गर्न लागिएको हो।
मच्छारले आफू क्रमशः स्वास्थ्यलाभ गरिरहेको बताउँदै नेतन्याहुको निम्तो स्वीकार गर्ने संकेत दिएका छन्। उनले नेतन्याहुलाई भेट्न आफू पनि उत्साहित रहेको बताएका छन्।
इजरायली प्रधानमन्त्री कार्यालयले नेतन्याहु र मच्छारबीच भएको टेलिफोन संवादको सम्पादित अंश सार्वजनिक गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।