काठमाण्डौ । युक्रेनको राजधानी किभका दुई महत्वपूर्ण पुल रुसी हमलाको निशानामा परेका छन्। पछिल्लो पटक शनिबार बिहान भएको आक्रमणबाट राजधानीको उत्तरी पुलमा क्षति पुगेको किभका मेयर भिताली क्लिच्कोले बताएका छन्।
क्लिच्कोका अनुसार रुसी हमलाका कारण पुलको सडक सतहमा क्षति पुगेको छ भने ट्रलीबस सञ्चालनका लागि प्रयोग हुने विद्युतीय तारसमेत प्रभावित भएका छन्।
यसअघि बिहीबारदेखि नै किभको दक्षिणी पुल रुसी ड्रोन हमलाको निशानामा पर्दै आएको थियो। पूर्वी र पश्चिमी किभलाई जोड्ने यी दुवै पुल राजधानीको यातायात प्रणालीका लागि महत्वपूर्ण मानिन्छन्।
किभका मेयरले पछिल्ला आक्रमणले राजधानीका महत्वपूर्ण पूर्वाधारमाथि गम्भीर चुनौती थपिएको बताएका छन्। उनका अनुसार यसअघि यी दुई पुल रुसी हमलाको प्रमुख निशानामा परेका थिएनन्।
युक्रेनी अधिकारीहरूका अनुसार पुलसँगै ऊर्जा, सञ्चार तथा यातायात संरचनामाथि पनि रुसी आक्रमण तीव्र हुँदै गएको छ। लगातारका हमलाले राजधानीको आवागमन र सर्वसाधारणको दैनिक जीवन प्रभावित हुने जोखिम बढेको छ।
रुस–युक्रेन युद्ध जारी रहँदा दुवै पक्षबाट एकअर्काका रणनीतिक संरचनामाथि आक्रमण भइरहेका छन्। युक्रेनले रुसी हमलाको प्रतिकार गर्ने बताउँदै आएको छ भने अमेरिका लगायतका पक्षले युद्ध अन्त्यका लागि कूटनीतिक समाधानको प्रयास जारी राखेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।