काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी प्रवर्द्धन, उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सञ्चार क्षेत्र र निजी क्षेत्रबीच रचनात्मक सहकार्य आवश्यक रहेको बताएका छन्। निजी क्षेत्रको मनोबल अभिवृद्धि र आर्थिक विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले निजी क्षेत्रका कमजोरी तथा अनियमिततामाथि पनि निष्पक्ष निगरानी हुनुपर्नेमा जोड दिए।
राष्ट्रिय अनलाइन पत्रकार संघले आइतबार आयोजना गरेको अवार्ड समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अग्रवालले जिम्मेवार पत्रकारिता र उत्तरदायी निजी क्षेत्रको सहकार्यले सुशासन तथा समृद्धिमा योगदान पुर्याउने बताए।
“जिम्मेवार पत्रकारिता र उत्तरदायी निजी क्षेत्र एकअर्काका प्रतिस्पर्धी होइनन्, सुशासन र समृद्धिका सहयात्री हुन्,” उनले भने।
अग्रवालले उद्योग, व्यापार, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि तथा साना र मझौला उद्यमका समस्या, सम्भावना, नवप्रवर्तन र सफलताका कथालाई सञ्चारमाध्यमले तथ्यपरक रूपमा उजागर गर्नुपर्ने बताए। यससँगै निजी क्षेत्रका कमजोरी, अनियमितता र उपभोक्तासँग सम्बन्धित विषयमा निष्पक्ष खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्ने प्रतिस्पर्धाबीच सत्यता र विश्वसनीयतालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। अनलाइन पत्रकारिता नागरिकलाई सुसूचित गर्ने, लोकतन्त्रलाई बलियो बनाउने र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै उनले तथ्यपरक समाचार दिने संस्कार विकास गर्नुपर्ने बताए।
सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, क्लिक र भ्युजका लागि हुने अस्वस्थ प्रतिस्पर्धा तथा पत्रकारको आर्थिक र व्यावसायिक असुरक्षाले पत्रकारिताको विश्वसनीयतामा चुनौती थपेको अग्रवालले औँल्याए। पत्रकारिताको वास्तविक शक्ति सत्य, विश्वसनीयता, निष्पक्षता र जनउत्तरदायित्वमा निहित रहेको उनको भनाइ थियो।
कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे बोल्दै उनले यसले समाचार सङ्कलन, विश्लेषण र सम्प्रेषणलाई सहज बनाउन सक्ने भए पनि पत्रकारको विवेक, नैतिकता र मानवीय संवेदनशीलतालाई प्रतिस्थापन गर्न नसक्ने धारणा राखे। प्रविधिको प्रयोगसँगै तथ्य जाँच, डिजिटल साक्षरता र व्यावसायिक आचारसंहितालाई प्राथमिकता दिनुपर्ने उनले बताए।
अग्रवालले पत्रकारको व्यावसायिक सुरक्षा र सम्मानजनक कार्य वातावरणको आवश्यकतामा पनि जोड दिए। पत्रकारले डर, दबाब वा प्रलोभनबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउनुपर्ने उल्लेख गर्दै उनले सञ्चार संस्थाहरूले उचित पारिश्रमिक, सामाजिक सुरक्षा र क्षमता विकासका अवसर उपलब्ध गराउनुपर्ने बताए।
व्यावसायिक पत्रकारिताको प्रवर्द्धनसँगै एआई तथा डेटा पत्रकारितामा दक्षता अभिवृद्धि, अनलाइन सञ्चारमाध्यमको आर्थिक दिगोपन र पत्रकारको हकहित संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। समाधानमुखी पत्रकारिता र निजी क्षेत्रसँग रचनात्मक सहकार्य विस्तारसमेत अहिलेको आवश्यकता रहेको उनले औँल्याए।
“समाचार छिटो मात्र होइन, सत्य हुनुपर्छ; विचार स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ र प्रविधि आधुनिक मात्र होइन, मानवता र नैतिकताप्रति संवेदनशील पनि हुनुपर्छ,” अग्रवालले भने।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।