काठमाडौं। कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक शेयर बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ।
बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो हक विद्यमान संस्थापक शेयरधनीमा रहने व्यवस्था छ।
सोहीअनुसार उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूका लागि सूचना प्रकाशित गरिएकोमा कुनै पनि आवेदन नपरेपछि संस्थापकभन्दा बाहिरका सर्वसाधारणबाट शेयर खरिदका लागि आवेदन माग गरिएको बैंकले जनाएको छ।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, काठमाडौं–२, टंगालमा पुग्ने गरी दिनुपर्नेछ।
बैंकका अनुसार बिक्रीमा राखिएको उक्त संस्थापक शेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।