काठमाण्डौ । विद्यार्थीले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर र नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयबीच इन्टर्नसिप तथा शैक्षिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् । इन्टर्नसिपमार्फत विद्यार्थीले बीमा क्षेत्रको संस्थागत संरचना, कार्यप्रणाली, नीति, सेवा प्रवाह तथा नियमनका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले सम्झौताले विद्यार्थीलाई बीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न, अनुसन्धानमा संलग्न हुन र भविष्यमा बीमा क्षेत्रमा रोजगारीका अवसर पहिचान गर्न सहयोग पुग्ने बताए ।
उनले शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने दिशामा यो सम्झौता महत्वपूर्ण रहेको उल्लेख गरे । यस्तो सहकार्यले विद्यार्थीको व्यावहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै बीमा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुग्ने उनको भनाइ छ ।
महर्जनका अनुसार प्राधिकरणले क्याम्पससँगको सहकार्यमा विषयविज्ञमार्फत विद्यार्थीलाई बीमासम्बन्धी शिक्षा, सचेतना तथा आवश्यक जानकारी प्रदान गर्नेछ । साथै आवश्यकताअनुसार बीमा सचेतनासम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा. रामावतार शरणले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक दक्षता अभिवृद्धिका लागि यस्ता सहकार्य महत्वपूर्ण हुने बताए ।
प्राध्यापक अच्युतराज कट्टेलले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई अध्ययनकै क्रममा कार्यक्षेत्रको अनुभव दिलाउन सके उनीहरूको क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता थप प्रभावकारी हुने बताए ।
नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन, बीमा सचेतना विस्तार तथा युवा पुस्तामा बीमासम्बन्धी ज्ञान वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
प्राधिकरणले शैक्षिक संस्थासँगको सहकार्यले विद्यार्थीलाई बीमा क्षेत्रका अवसर, चुनौती र कार्यप्रणाली नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
इन्टर्नसिप कार्यक्रममार्फत अध्ययन र रोजगारीबीचको दूरी कम हुने तथा विद्यार्थीले भविष्यमा बीमा, बैंकिङ र वित्तीय क्षेत्रमा करियर निर्माणका लागि आवश्यक सीप र अनुभव हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।