काठमाण्डौ । दसैंको समयमा बढ्ने यात्रुवाहक सवारीको चाप व्यवस्थापन गर्न नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
निर्णयअनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं रुटमा ठूला मालवाहक सवारी चलाउन पाइने छैन।
दसैंका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने तथा विभिन्न जिल्लाबाट काठमाडौं आउने यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले सडकमा हुने चाप र सम्भावित जाम कम गर्न यस्तो व्यवस्था गरिएको हो।
तर, खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनमा भने उक्त रोक लागू हुने छैन। यस्ता सवारीलाई नियमित रूपमा सञ्चालन गर्न दिइने विभागले जनाएको छ।
दसैंको मुख्य यात्रा अवधिमा यात्रुवाहक सवारीलाई सहज आवागमन गराउने उद्देश्यले मालवाहक ठूला सवारीमा समयसीमित रोक लगाइएको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।