काठमाडौं । विश्वप्रसिद्ध कफी चेन स्टारबक्सले सानो आकारका क्याफेमार्फत व्यवसाय विस्तार गर्ने नयाँ रणनीति अघि सारेको छ। महँगो घरजग्गा भएका ठूला सहरमा समेत ग्राहकलाई आरामसँग बसेर कफी पिउने वातावरण दिन कम्पनीले नयाँ डिजाइन परीक्षण थालेको हो।
सीएनएनका अनुसार अमेरिकाको सान एन्टोनियोमा गत महिना खुलेको नमुना क्याफेमा आरामदायी सिट, बेकरी परिकारको प्रदर्शनी र कफी बनाउने बार समेटिएका छन्। साँघुरो ठाउँमा अटाउन काउन्टरको संरचना फेरिएको छ। सान एन्टोनियो र म्यानहटनसहित यस्तो ढाँचाका छवटा क्याफे सञ्चालनमा आए पनि कम्पनीले तिनको क्षेत्रफल खुलाएको छैन।
प्रमुख कार्यकारी अधिकृत ब्रायन निकोलको रणनीति स्टारबक्सलाई घर र कार्यालयबाहेक भेटघाट गर्ने ‘तेस्रो स्थान’का रूपमा पुनःस्थापित गर्नु हो। यसअघि मोबाइल अर्डर उठाउने ग्राहकलाई प्राथमिकता दिँदा कम्पनीले हजारौं आरामदायी सिट हटाएको थियो। बढ्दो मूल्य र लामो प्रतीक्षासँगै यस्तो परिवर्तनले बिक्रीमा दबाब परेको रिपोर्टमा उल्लेख छ।
नयाँ क्याफेमा ग्राहकले प्रत्यक्ष, एप वा डेलिभरीमार्फत अर्डर गर्न सक्नेछन्। कम्पनीका अनुसार करिब ३० प्रतिशत ग्राहकले मोबाइल अर्डर प्रयोग गर्छन्।
उत्तर अमेरिकामा हालसम्म १,५०० पुराना क्याफेको डिजाइन सुधारिएको छ। पछिल्ला दुई वर्षमा सयौं शाखा बन्द गरेको स्टारबक्सको अमेरिकी समान शाखाको बिक्री पछिल्लो त्रैमासिकमा वृद्धिमा फर्किएको छ। आगामी वर्षहरूमा करिब पाँच हजार नयाँ शाखा खोल्ने योजनामा साना क्याफेले विस्तारको अवसर थप्ने अपेक्षा गरिएको छ।
-CNN MONEY


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।