काठमाण्डौ । ब्रिलियन्ट सेक्युरिटिज प्रालि (ब्रोकर नं. ८) ले वार्षिक ८ प्रतिशत ब्याजदरमा मार्जिन ट्रेडिङ सुविधा सुरु गरेको छ।
कम्पनीले लगानीकर्ताको खरिद क्षमता बढाउने, सहज वित्तीय पहुँच उपलब्ध गराउने र उपलब्ध पूँजीलाई थप प्रभावकारी रूपमा परिचालन गर्न सहयोग गर्ने उद्देश्यले उक्त सुविधा ल्याएको जनाएको छ।
ब्रिलियन्ट सेक्युरिटिजका अनुसार मार्जिन ट्रेडिङअन्तर्गत लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्मको सीमा प्राप्त गर्न सक्नेछन्।
यस सुविधामा प्रारम्भिक मार्जिन ३० प्रतिशत र मेन्टेनेन्स मार्जिन २० प्रतिशत कायम गरिएको छ। स्वीकृत सीमा तथा लागू हुने सर्तअनुसार ब्रोकरले लगानीकर्तालाई अधिकतम ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ।
मार्जिन ट्रेडिङ सुविधाको अवधि १ महिनादेखि ३ महिनासम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत निर्धारण गरिएको छ।
कम्पनीका अनुसार लगानीकर्ताले स्वीकृत भएको सम्पूर्ण सीमामा नभई वास्तवमा उपयोग गरेको ऋण रकममा मात्रै ब्याज तिर्नुपर्नेछ। यसले वित्तीय व्यवस्थापनलाई पारदर्शी र लागत प्रभावकारी बनाउने कम्पनीको दाबी छ।
ब्रिलियन्ट सेक्युरिटिजले यो सुविधामार्फत तुलनात्मक रूपमा कम प्रारम्भिक पूँजीबाट लगानीकर्ताले सेयर खरिद क्षमता बढाउन सक्ने जनाएको छ। विशेषगरी उपलब्ध नगदभन्दा बढी लगानी अवसर उपयोग गर्न चाहने लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ उपयोगी वित्तीय उपकरण बन्न सक्ने कम्पनीको भनाइ छ।
मार्जिन ट्रेडिङसम्बन्धी सबै कारोबार तथा वित्तीय सेवा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार सञ्चालन हुने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्तालाई आफ्नो जोखिम वहन क्षमता, लगानी लक्ष्य तथा बजार अवस्थाको मूल्याङ्कन गरेर मात्र निर्णय लिन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।