काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाराको परवानीपुर शाखा कार्यालयमा भएको तोडभोडको घटनाको भर्त्सना गरेको छ । संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ १ गते मंगलबारका दिन दिउँसो करिब १ः१० बजे संस्थाको शाखा कार्यालय परवानीपुर, बारामा भएको तोडभोड र अराजक कार्यको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ ।
‘करिब २०–३० जनाको अराजक समूहले शाखा कार्यालय भित्र प्रवेश गरी शाखामा कार्यरत कर्मचारीहरुलाई डर, धम्की तथा त्रास पैदा गर्दै शाखा प्रमुख तथा कर्मचारीहरुमाथि ज्यान मार्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहार समेत गरेको तथा कार्यालय प्रयोजनका टेबल,कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी समाग्रीहरु तोडफोड गरेको, कार्यालयको दराजमा रहेको सदस्यहरुको कर्जासँग सम्बन्धित तमसुक तथा अन्य कागजातहरु, सदस्यहरुका व्यक्तिगत फाईलहरु, दैनिक वित्तीय कारोबारका भौचरहरु तथा नगदी रसिदहरु र कार्यालयको फ्लेक्स बोर्ड कार्यालयबाट बाहिर लगि बाटोमा आगो लगाई नष्ट गर्ने जस्ता अत्यन्त निन्दनीय, गैर कानूनी तथा अभद्र कार्यहरु गरेको साथै शाखा कार्यालयमा ताला समेत लगाई अराजक र असभ्य क्रियाकलापहरु गरेको घटनाको संस्था घोर भर्त्सना गर्दछ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संस्थाले वित्तीय सेवा प्रवाह गरिरहेको दिउँसोको समयमा नेपाल सरकारको अति आवश्यकिय क्षेत्रमा पर्ने बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीहरुमाथि भएको भौतिक आक्रमण, वित्तीय संस्थाको सम्पत्तीमा पर्न गएको क्षति तथा जोखिममा संलग्न सम्बन्धित समुह तथा व्यक्तिहरुलाई कडा भन्दा कडा कानूनी कारवाहिको माग गरेको छ ।
विज्ञप्तीमा भनिएको छ,‘नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले विधिको शासन तथा नियामक निकायबाट प्राप्त नीति तथा निर्देशनको परिधीमा रहि काम कारवाहिहरु गर्दै आईरहेको साथै खराब ऋणीहरुलाई संस्थाको कर्जा असुली नीति, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीति नियमको परिधीमा रहि कालो सूचीमा समावेस गरिएकोमा हुल–हुज्जत गरी आफ्नै हिसाबले कालो सूचीमा समावेश किन गरेको? तत्काल कालोसूचीबाट हटाउ भन्दै कर्मचारीहरु माथि डर, धम्की तथा त्रास पैदा गर्दै कर्मचारीहरुमाथि ज्यान जोखिम पर्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहारका साथमा आम जनमानसमा समेत भ्रम तथा अराजकता फैलाएको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ ।’
यस्तै संस्थाले वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुर्याई दिन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानिय सरकार तथा सम्बन्धित अन्य निकायहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                