काठमाण्डौ । सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ। यातायात व्यवस्था विभागले इन्धनको मूल्यमा आएको गिरावटलाई आधार बनाउँदै यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर २ प्रतिशतले घटाएको हो।
विभागले असोज १७ गते डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसाबाट घटेर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडादर पुनरावलोकन गरेको जनाएको छ।
यसअघि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दा यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा क्रमशः ९.५ प्रतिशत, १२.९ प्रतिशत र १४.३ प्रतिशतसम्म बढाउनुपर्ने अवस्था देखिएको थियो।
तर तत्कालीन विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले सबै प्रकारका सवारीसाधनको भाडादर ५ प्रतिशत मात्रै वृद्धि गरेको थियो। पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो समय आएको गिरावटलाई समेत ध्यानमा राख्दै विभागले यात्रुवाहक तथा मालवाहक सवारीको भाडा २ प्रतिशतले घटाउने निर्णय गरेको हो।
नयाँ भाडादर असोज १८ गतेदेखि लागू हुने विभागले जनाएको छ। यो व्यवस्था दुई वा सोभन्दा बढी प्रदेश भएर राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू हुनेछ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा समान २ प्रतिशत भाडा घटाइएको छ।
यद्यपि अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधनको हकमा भने यसअघि कायम गरिएको भाडादर यथावत रहने विभागले स्पष्ट पारेको छ।
विभागले नयाँ भाडादरसँगै निर्धारित अन्तरप्रदेश मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको संशोधित भाडासूचीसमेत सार्वजनिक गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।