–रविन ठकुरी
काठमाण्डौ । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको चाप बढेको छ। लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिन असोज २३ गतेदेखि यात्रुहरू बिहानैदेखि लाइनमा बस्न थालेका छन्।
तर बुकिङ खुलेको पहिलो दिनमै केही यात्रुले टिकट पाउन कठिन भएको र अघिल्लो वर्षभन्दा बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन्। यातायात व्यवसायीले भने इन्धनको मूल्यमा आएको उतारचढावका कारण केही रुटमा भाडा बढेको र अतिरिक्त सवारी थपिएपछि टिकट अभाव नहुने बताएका छन्।
सरकारले दशैं, तिहार र छठमा घर जाने यात्रुलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरेको हो। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते भएको बैठकले असोज २३ गतेदेखि बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
निर्णयअनुसार बुकिङ सुरु भएसँगै नयाँ बसपार्कमा उपत्यका बाहिर जाने यात्रुको भीड बढेको छ। नयाँ बसपार्कमा टिकट लिन पुगेका पुष्प भण्डारीले पहिलो दिनमै सिट पाउन कठिन भएको बताए।
'असोज २९ गते जाने तयारी गर्दा पनि मुश्किलले दुई सिट पायौं। लगभग सबै सिट प्याक भएको भनिरहेका छन्,' उनले भने। भण्डारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष टिकापुर जाने टिकट महँगो भएको गुनासो पनि गरे।
उनका अनुसार अघिल्लो वर्ष टिकापुरसम्मको टिकट २ हजार ३०० रुपैयाँमा पाइन्थ्यो। यस वर्ष भने टिकट ३ हजार १९० रुपैयाँ पुगेको छ। बाटोको खानासहित खर्च करिब ४ हजार रुपैयाँ पुग्ने उनले बताए।
थप सवारीको टिकट खुल्न बाँकी
यात्रुको चाप व्यवस्थापन तथा टिकट वितरण सहज बनाउन लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा अतिरिक्त टिकट काउन्टर सञ्चालनमा ल्याएको छ।
नयाँ बसपार्कका यातायात व्यवसायी आर्जन पराजुलीले अहिले देखिएको टिकट अभाव नियमित ‘क्यू’ मा चल्ने सवारीको मात्र भएको बताए। 'अहिले प्याक भएको क्यूको गाडी हो। एक्स्ट्रा सवारीको बुकिङ हुनै बाँकी छ। यात्रुले टिकट सहज रूपमा पाउँछन्,' उनले भने।
पराजुलीका अनुसार इन्धनको मूल्य बढेकाले केही रुटमा भाडा अघिल्लो वर्षभन्दा बढेको हो। “काँकडभिट्टा जाने बसको टिकट अघिल्लो वर्ष २ हजार ५०० रुपैयाँ थियो। अहिले ३ हजार रुपैयाँ भएको छ। यस आधारमा ५०० रुपैयाँ मात्रै बढेको हो,” उनले भने।
‘टिकट अभाव हुँदैन, भाडा सामान्य मात्रै बढेको छ’
लगातारको वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक सञ्जाल मर्मतपछि सञ्चालनमा आएसँगै अग्रिम टिकट बुकिङ खुलाइएको हो।
भिजिट कर्णाली यातायात प्रालिका शाखा इन्चार्ज दुर्गा केसीले अहिले सार्वजनिक सवारीको संख्या बढेकाले टिकट पाउन ठूलो समस्या नहुने बताए।
“पहिले जनसंख्या धेरै र गाडी कम थिए। अहिले गाडी धेरै छन्, सार्वजनिक सवारी चढ्ने संख्या तुलनात्मक रूपमा कम छ। त्यसैले टिकट पाउन मुश्किल हुँदैन,” उनले भने।
उनका अनुसार काठमाडौं–सुर्खेत रुटको भाडा ३ हजार १८५ रुपैयाँबाट बढेर ३ हजार २५२ रुपैयाँ पुगेको छ। “भाडा खासै धेरै बढेको छैन,” उनले दाबी गरे।
दाङको भाडा एकै वर्षमा ७५० रुपैयाँ बढेको गुनासो
यात्रुहरूले भने व्यवसायीको दाबीभन्दा फरक अनुभव सुनाएका छन्।
दाङ जानका लागि टिकट लिन नयाँ बसपार्क पुगेका कुलविर खत्रीले एक वर्षमै भाडा ७५० रुपैयाँ बढेको गुनासो गरे।
“अघिल्लो वर्ष दाङसम्मको टिकट १ हजार ५०० रुपैयाँ थियो। यो वर्ष २ हजार २५० रुपैयाँ पुगेको छ,” उनले भने।
दशैं–तिहार र छठको समयमा ठूलो संख्यामा मानिस उपत्यकाबाट बाहिरिने भएकाले बसपार्क तथा अन्य क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। भीडभाडका बेला हुन सक्ने चोरी, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।
अग्रिम टिकट बुकिङ खुलेसँगै अब काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन गृहजिल्ला फर्किने यात्रुको संख्या तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।