काठमाण्डौ । केन्यासहित विभिन्न अफ्रिकी मुलुकमा बसोबास गर्दै आएका नेपाली नागरिकले भोगिरहेका समस्या समाधानका लागि सरकारमार्फत कूटनीतिक पहल गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आग्रह गरिएको छ।
केन्याको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले सभामुख अर्यालसँग शिष्टाचार भेट गर्दै अफ्रिकी मुलुकमा रहेका नेपालीहरूको बसोबास, कानुनी हैसियत तथा कूटनीतिक सेवामा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।
भेटका क्रममा केन्यासहित विभिन्न अफ्रिकी देशमा रहेका नेपालीहरूको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका कानुनी तथा प्रशासनिक जटिलता र समस्या समाधानका सम्भावित उपायबारे छलफल भएको थियो।
डा. अस्करले विदेशमा रहेका नेपालीहरूको बसोबाससम्बन्धी समस्या समाधान गर्न नेपाल सरकारले सम्बन्धित मुलुकसँग आवश्यक कूटनीतिक समन्वय र सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।
विशेषगरी दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द भएपछि त्यस क्षेत्रमा रहेका नेपाली नागरिकलाई कूटनीतिक तथा कन्सुलर सेवा प्राप्त गर्न कठिनाइ भइरहेको विषयसमेत भेटमा उठाइएको थियो।
राजदूतावासको अभावमा नेपालीहरूले भोगिरहेका समस्या सम्बोधन गर्न र आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने वातावरण बनाउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको विषयमा छलफल भएको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।