काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरमध्ये कुनै एकको नाम परिवर्तन गरेर ‘ट्रम्प ओसन’ वा ‘ओसन अफ द अमेरिकाज’ राख्न सकिने प्रस्ताव गरेका छन्।
टेनेसीको क्लार्क्सभिलमा शनिबार आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले महासागरको नाम परिवर्तन गर्ने विचार सार्वजनिक गरेका हुन्। यद्यपि उनले यसबारे कुनै औपचारिक योजना वा निर्णय घोषणा गरेका छैनन्।
र्यालीमा ट्रम्पले अमेरिका आफ्नै नामकरण गरिएका ठूला भौगोलिक पहिचानतर्फ अघि बढ्न सक्ने संकेत गर्दै नदी र महासागरसमेत पुनःनामकरण गर्न सकिने बताएका थिए।
उनले ‘ट्रम्प ओसन’ वा ‘ओसन अफ द अमेरिकाज’ जस्ता नाम उल्लेख गरेपछि कार्यक्रममा सहभागी समर्थकले ताली र हाँसोसहित प्रतिक्रिया दिएका थिए।
यो प्रस्ताव ट्रम्प प्रशासनले यसअघि अघि सारेका भौगोलिक नाम परिवर्तनसँग जोडिएको छ। अमेरिकी संघीय निकायहरूलाई ‘Gulf of Mexico’ को सट्टा ‘Gulf of America’ प्रयोग गर्न निर्देशन दिइएको थियो भने ‘Lake Ontario’ लाई संघीय प्रयोगमा ‘Lake America’ भन्नेसम्बन्धी कदम पनि चालिएको थियो।
ट्रम्पले ठूला नदीको नाम परिवर्तन गर्ने विचार पनि उल्लेख गरे, तर हडसन र मिसिसिपी नदीको नाम भने नफेर्ने बताएका छन्।
तर महासागरको नाम परिवर्तन गर्ने विषय अमेरिकाको आन्तरिक निर्णयले मात्र विश्वव्यापी रूपमा लागू हुँदैन। अमेरिकी सरकारले आफ्ना संघीय कागजात तथा नक्सामा प्रयोग हुने नाम परिवर्तन गर्न सक्ने भए पनि अन्य देश तथा अन्तर्राष्ट्रिय भौगोलिक संस्थाहरू त्यसलाई मान्न बाध्य हुँदैनन्।
यसकारण अहिले ट्रम्पको भनाइलाई औपचारिक नाम परिवर्तनभन्दा पनि र्यालीमा सार्वजनिक गरिएको प्रस्तावका रूपमा बुझ्नुपर्ने देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।