काठमाण्डौ । सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने तयारी भइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। उता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भने आन्तरिक असन्तुष्टि सम्बोधन गर्न संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गर्दै बजेट पारित गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रदेशसभामा प्रस्तुत गरिएको बजेट तत्काल पारित गर्ने तर त्यसमा उठेका विवादित विषय संसदीय छानबिनमार्फत टुंग्याउने समझदारी गरेको हो।
नेकपा सांसद अक्कल रावलका अनुसार हाल प्रस्तुत बजेट पारित गरिए पनि छानबिन नसकिएसम्म पुँजीगत खर्च नगर्ने सहमति भएको छ। उनका अनुसार विवादित विषयमा छानबिन गरी कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याइनेछ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष सुरु भएको करिब तीन महिनापछि मात्रै बजेट ल्याएको हो। आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
बजेट सार्वजनिक भएलगत्तै सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएका थिए। उनीहरूले बजेट निर्माणमा बिचौलियाको प्रभाव परेको, कमिसनको खेल भएको र पहुँचका आधारमा योजना छनोट गरिएको आरोप लगाउँदै आएका छन्।
विवाद चर्किएपछि प्रदेशसभा बैठकसमेत प्रभावित हुँदै आएको छ। मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रतिपक्षसँग समन्वय नगरेको र बजेट जनपक्षीय नभएको आरोप लगाउँदै प्रदेशसभाका बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबारदेखि प्रदेशसभाका बैठकमा सहभागी नहुने निर्णय गरिएको बताएका छन्।
सत्तारूढ दलभित्र बजेट पारित गर्ने सहमति जुटे पनि कांग्रेसको बहिष्कारका कारण सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित प्रक्रिया थप राजनीतिक तनावबीच अघि बढ्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।