काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछिको ६ महिनामा ऊर्जा, सिँचाइ, जलस्रोत, विद्युत् पूर्वाधार, नवीकरणीय ऊर्जा र मौसम पूर्वसूचना क्षेत्रमा भएका १३७ वटा प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ।
मन्त्रालयको विवरणअनुसार नीतिगत सुधारदेखि ठूला जलविद्युत् तथा प्रसारण लाइन निर्माण, विद्युत् व्यापार क्षमता विस्तार, सिँचाइ आयोजना, डिजिटल सेवा र बाढी–मौसम पूर्वसूचना प्रणालीसम्मका कामलाई ६ महिनाको उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।
सबैभन्दा महत्वपूर्ण संरचनात्मक पहलमध्ये नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण/व्यापार गरी तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने ‘अनबन्डलिङ’ रोडम्याप तयार भइरहेको छ। मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्दै यससम्बन्धी रोडम्यापलाई अन्तिम रूप दिने काम भइरहेको छ।
त्यस्तै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भई संसदमा पुगिसकेको छ भने विद्युत्/ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकको प्रारम्भिक मस्यौदा पनि तयार भएको मन्त्रालयले जनाएको छ।
भारतसँग विद्युत् आदानप्रदान क्षमता बढ्यो
नेपाल–भारत ऊर्जा सहकार्यमा पनि महत्वपूर्ण प्रगति भएको मन्त्रालयको दाबी छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाह क्षमता आयाततर्फ १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्याततर्फ १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको छ।
चमेलिया–धौलीगंगा, मोतिहारी–निजगढ र मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनका डीपीआरसमेत स्वीकृत भएका छन्। इनरुवा–न्यू पूर्णिया तथा दोदोधरा–बरेली ४०० केभी लाइनका लागि नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाबीच संयुक्त कम्पनी स्थापना प्रक्रिया तीव्र बनाउने निर्णय भएको छ।
२७ जलविद्युत् आयोजनाको RCOD थप
नेपाल विद्युत् प्राधिकरणले निर्माणको अन्तिम चरणमा रहेका २७ जलविद्युत् आयोजनाको ५४०.४७ मेगावाट बराबरको Required Commercial Operation Date (RCOD) थप गरेको छ। यस अवधिमा ३९ जलविद्युत् आयोजनाको कुल ९५१.३४२ मेगावाट क्षमताको ग्रिड इम्प्याक्ट स्टडी पनि सम्पन्न गरिएको छ।
त्यस्तै बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे र न्यू खिम्ती ४०० केभी सबस्टेसन आंशिक सञ्चालनमा आएका छन्। मर्स्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी लाइन र काठमाडौंको चोभारस्थित १३२/११ केभी सबस्टेसन पनि निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
अपर अरुण र उत्तरगंगा अघि बढे
यस अवधिमा ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजनाले ३५ वर्षका लागि विद्युत् उत्पादन अनुमतिपत्र पाएको छ। १ हजार ६३ मेगावाटको अपर अरुणले पनि उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ र पहुँच सुरुङ तथा सडक निर्माणका काम अघि बढेका छन्।
तनहुँ जलविद्युत् आयोजनामा बाँध निर्माणको प्रगति ६२ प्रतिशत, सुरुङ तथा विद्युत्गृहसम्बन्धी काम ७९ प्रतिशत र दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको प्रगति ८२ प्रतिशत पुगेको विवरणमा उल्लेख छ।
सिँचाइमा अर्बौंको स्रोत सुनिश्चित
सिँचाइतर्फ बबई आयोजनाका लागि रु. ४ अर्ब ७ करोड र सिक्टा सिँचाइ आयोजनाका लागि रु. ५ अर्ब २३ करोड स्रोत सहमति प्राप्त भएको छ। सिक्टामा १३ किलोमिटर नहर निर्माण हुँदा थप १ हजार ३०० हेक्टरमा सिँचाइ विस्तार भएको छ। बबईमा पनि थप ६०० हेक्टरमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ।
महाकाली सिँचाइ आयोजनामा थप १ हजार १५५ हेक्टर र बड्कापथमा ६१० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।
वैकल्पिक ऊर्जामा सौर्य र स्वच्छ चुलोको विस्तार
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत लघु तथा साना जलविद्युतबाट ६९३ किलोवाट र सौर्य मिनिग्रिडबाट ८४१ किलोवाट विद्युत् उत्पादन भएको छ। विभिन्न संस्थामा १८ हजार ५७५ किलोवाटभन्दा बढी रुफटप सौर्य प्रणाली जडान गरिएको छ।
स्वच्छ ऊर्जा प्रविधितर्फ बायोग्यास, विद्युतीय चुलो र सुधारिएको चुलो गरी १ लाख १९ हजार ५०० वटा प्रविधि जडान तथा वितरण गरिएको मन्त्रालयको विवरण छ।
बाढी पूर्वसूचनामा ५ दिनसम्मको पूर्वानुमान
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीको बाढी पूर्वानुमान अवधि ३ दिनबाट ५ दिन र साना नदीको आकस्मिक बाढी जोखिम पूर्वानुमान २४ घण्टाबाट ४८ घण्टा पुर्याएको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढी जोखिमका बेला लाखौं एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएको छ भने मौसम विभागले ‘Nepal Weather Official’ मोबाइल एपमार्फत पनि सेवा सुरु गरेको छ।
समग्रमा मन्त्रालयले ६ महिनाको अवधिलाई नीतिगत सुधार, ठूला पूर्वाधारको गति, विद्युत् व्यापार विस्तार, डिजिटलाइजेसन तथा विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणको चरणका रूपमा प्रस्तुत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।