काठमाडौँ। इरानले व्यावसायिक जहाजमाथिको आक्रमण तीव्र पारिरहेका बेला होर्मुज जलडमरूमध्यमा एउटा कन्टेनर जहाज डुबेको छ।
सिंगापुरमा दर्ता भएको जीएफएस प्राइड नामक जहाज अज्ञात वस्तुको प्रहारबाट आगलागी भएपछि डुबेको हो। सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जहाजमा रहेका २१ जना चालकदलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। घटनामा कोही घाइते भएका छैनन्।
सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणलाई ‘उक्साहटबिनाका, अनुचित र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भनेको छ।
जहाज डुबेपछि त्यसमा रहेका कन्टेनर पानीमा तैरिरहेको पाकिस्तानी समुद्री अधिकारीहरूले नौवहनसम्बन्धी चेतावनी जारी गर्दै बताएका छन्। संयुक्त राष्ट्रसङ्घको निकाय अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ)का अनुसार इरान युद्धका क्रममा डुबेका व्यावसायिक जहाजमध्ये यो तेस्रो हो।
यसैबीच, सिंगापुरमै दर्ता भएको अर्को कन्टेनर जहाज जीएफएस जिसेल पनि अज्ञात वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको छ। जहाजको बाहिरी भागमा क्षति पुगे पनि सुरक्षित स्थानमा लगिएको र चालकदलका कुनै सदस्य घाइते नभएको सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।