काठमाण्डौ । बढ्दो साइबर तथा वित्तीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले उच्च प्रविधिमा आधारित नयाँ संयन्त्र विकास गर्ने तयारी थालेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै वित्तीय र साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने दिशामा काम भइरहेको बताएका हुन्।
७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेट कम्पनीलाई एउटै प्लेटफर्ममा जोड्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार यस्तो संयन्त्र निर्माण भएपछि साइबर तथा वित्तीय अपराधसम्बन्धी नागरिकका गुनासा र उजुरीलाई छिटो सम्बोधन गर्न तथा सम्बन्धित निकायबीच समन्वय प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
पछिल्लो समय डिजिटल कारोबार विस्तारसँगै वित्तीय ठगी तथा साइबर अपराधका घटना बढिरहेको उल्लेख गर्दै आईजीपी कार्कीले यस्ता अपराध नियन्त्रणमा प्रविधिको प्रयोग र अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिइएको बताए।
उनले विपद् तथा संकटका समयमा प्रभावकारी रूपमा परिचालन हुन सक्ने गरी नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा समेत जोड दिइएको बताए। त्यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा आवश्यक पूर्वाधार विकासमा सरकारबाट सहयोग भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा आईजीपी कार्कीले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेकोसमेत जानकारी दिए।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित मनाइएको प्रहरी दिवसका अवसरमा उनले राष्ट्रसेवाका क्रममा विभिन्न समयमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संगठन निर्माणमा योगदान पुर्याउने पूर्व तथा बहालवाला प्रहरीप्रति आभार व्यक्त गरे।
सोही अवसरमा विमोचन गरिएको ‘पुलिस मिरर’ले नेपाल प्रहरीको इतिहास, वर्तमान अवस्था र योगदानलाई नयाँ पुस्तासँग जोड्ने विश्वाससमेत उनले व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।