काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरेका हुन्। उनको सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यक्रममा वाचन गरेका थिए।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा थप सक्षम बनाउने सरकारको प्रतिबद्धता रहेको बताएका छन्। त्यसक्रममा प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता (एआई) सहित आधुनिक सुरक्षा प्रणालीको प्रयोग विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्।
उनले देशको आन्तरिक शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संकटका समयमा धैर्य, उचित निर्णय र कुशल कार्यसम्पादनमार्फत नागरिकको विश्वास कायम राख्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले पछिल्लो समय प्रविधिको विस्तारसँगै अपराधको प्रकृति पनि परिवर्तन हुँदै गएको सन्दर्भमा प्रहरी संगठनलाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताएका छन्। उनले यसअघि पनि सूचना प्रविधिको सही प्रयोगले अपराध अनुसन्धानलाई छिटो, तथ्यपरक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका थिए।
सन्देशमार्फत प्रधानमन्त्री शाहले नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएका मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
सरकारले प्रहरीको जनशक्ति, तालिम, प्रविधि र पूर्वाधारलाई सुदृढ गर्दै बदलिँदो सुरक्षा चुनौतीअनुसार संगठनको क्षमता विस्तार गर्ने नीति लिएको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।