काठमाण्डौ । दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले आफ्ना प्रादेशिक तथा शाखा कार्यालय र डिपोहरू आवश्यकताअनुसार खुला राख्ने भएको छ।
निगमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला पेट्रोल, डिजेल, एलपी ग्यास तथा हवाई इन्धनको आपूर्ति सहज राख्न बिदाका दिनमा समेत डिपो सञ्चालन गर्ने जनाएको हो।
स्थानीय माग र आपूर्तिको अवस्था हेरेर विभिन्न प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपो सञ्चालन गरिने निगमले जनाएको छ। यसबाट दसैँको समयमा उपभोक्ताले इन्धन अभावको समस्या भोग्न नपर्ने अपेक्षा गरिएको छ।
बिदाको अवधिमा पेट्रोलियम पदार्थको उपलब्धता वा आपूर्तिमा कुनै समस्या देखिए तत्काल समाधानका लागि निगमले सम्पर्क व्यक्तिसमेत तोकेको छ।
पेट्रोल र डिजेलसम्बन्धी समस्या भए नवराज पोखरेललाई ९८४१४८०२०७ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, एलपी ग्यास तथा हवाई इन्धनसम्बन्धी समस्या भए सञ्जीव सङ्ग्रौलालाई ९८४१४३३६०४ मा सम्पर्क गर्न निगमले आग्रह गरेको छ।
चाडपर्वमा सवारीसाधनको आवागमन र इन्धनको माग बढ्ने भएकाले आपूर्ति प्रणाली नियमित राख्न विशेष व्यवस्था गरिएको निगमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।