काठमाण्डौ । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिएकी हुन्।
उनका अनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स सेवा माग गर्ने सेवाग्राहीलाई अवस्थाअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ।
काठमाडौंमा चारपाङ्ग्रे एम्बुलेन्सको संख्या पर्याप्त भए पनि ट्राफिक जाम, साँघुरा गल्ली र भौगोलिक अवस्थाका कारण समयमै बिरामीसम्म पुग्न नसक्ने समस्या देखिएको भन्दै महानगरले वैकल्पिक उपायका रूपमा बाइक एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।
विशेषगरी चारपाङ्ग्रे एम्बुलेन्स सहज रूपमा पुग्न नसक्ने चोक, गल्ली तथा भीडभाड भएका स्थानमा बाइक एम्बुलेन्सलाई ‘फस्ट रिस्पोन्स’ सेवाका रूपमा परिचालन गरिने महानगरले जनाएको छ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार आपत्कालीन अवस्थामा बिरामीलाई प्रारम्भिक स्वास्थ्य सहायता छिटो उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो।
उनले महानगरसँग पर्याप्त एम्बुलेन्स भए पनि समयमै घटनास्थलमा पुग्न नसक्नु मुख्य चुनौती रहेको बताइन्। विभिन्न अध्ययन तथा महानगरको फिल्ड अनुभवले पनि ट्राफिक जामका कारण एम्बुलेन्स सेवामा ढिलाइ हुने समस्या देखाएको उनको भनाइ छ।
महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, स्वास्थ्य उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको पनि डंगोलले बताइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।