काठमाण्डौ । वेब प्रविधि पीएचपीमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ।
राष्ट्र बैंकले कात्तिक ६ गते जारी गरेको ‘अत्यन्त जरुरी सूचना’मा विश्वव्यापी रूपमा देखिएको सुरक्षा जोखिमका कारण सावधानीस्वरूप सेवा बन्द गरिएको जानकारी दिएको हो। यस अवधिमा अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल हेर्न आग्रह गरिएको छ।
वेबसाइटलगायतका सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा परेको असुविधाप्रति राष्ट्र बैंकले क्षमा मागेको छ। यद्यपि, सूचनामा कुन–कुन सेवा प्रभावित भएका छन् र कहिलेदेखि पुनः सञ्चालनमा आउँछन् भन्ने खुलाइएको छैन।
यससँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीलाई सुरक्षा सतर्कता बढाउन अपिल गरेको छ। सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन आग्रह गरिएको हो।
वित्तीय संस्थालाई सतर्कता बढाउन अपिल
राष्ट्र बैंकको सूचनाले वेबसाइटको उपलब्धतासँगै वित्तीय क्षेत्रमा प्रयोग हुने प्रणालीको सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ। विशेषगरी भुक्तानी र विप्रेषण सेवा सञ्चालन गर्ने संस्थालाई समेत सम्बोधन गर्दै प्रणालीको सुरक्षा मजबुत बनाउन भनिएको छ।
सूचनामा सुरक्षा जोखिमको प्राविधिक विवरण, साइबर आक्रमण भएको वा तथ्यांक चुहावट भएको विषय उल्लेख छैन। साथै, राष्ट्र बैंकको वेबसाइटलगायतका सेवा बन्द गरिएको सूचनालाई सबै बैंकका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा डिजिटल भुक्तानी सेवा बन्द भएको अर्थमा बुझ्न मिल्दैन।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।