काठमाडौं । गत साताको अन्त्यतिर करिब ६ महिनायताकै उच्च बिन्दुनजिक पुगेको कच्चा तेलको मूल्य सोमबार घटेको छ । यद्यपि, साउदी अरबमाथि भइरहेका आक्रमणका कारण तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता कायमै छ ।
सोमबार ग्रिनविच समयअनुसार बिहान २ः३२ बजे अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई)को मूल्य प्रतिब्यारेल २(१४ डलर अर्थात् २.०७ प्रतिशतले घटेर १०१.१३ डलरमा झरेको छ । त्यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल २.१२ डलर अर्थात् १.८२ प्रतिशतले घटेर ११४.६० डलर कायम भएको छ ।
गत शनिबार साउदी अरबमा हुथी विद्रोहीले गरेको आक्रमणपछि ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढ्दा शुक्रबार तेलको मूल्य प्रतिब्यारेल करिब ३ डलरले बढेर कारोबार बन्द भएको थियो । उक्त साता ब्रेन्ट कच्चा तेलको मूल्य ६ प्रतिशत र डब्ल्यूटीआईको मूल्य २.३ प्रतिशतले बढेको थियो ।
सप्ताहन्तमा पनि आक्रमण जारी रहे । हुथी समूहले शनिबार साउदी अरबको विमानस्थल र तेल प्रशोधन तथा भण्डारणसम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो । आइतबार साउदी अरबले थप क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै निष्क्रिय पारेको बताएको थियो ।
हुथी आक्रमणको अघिल्लो चरणमा क्षति पुगेपछि बन्द भएको साउदी अरबको प्रमुख विमानस्थलले आइतबारदेखि आंशिक सेवा पुनः सुरु गरेको छ । यद्यपि, हुथी समूहले उक्त विमानस्थललाई निरन्तर निशाना बनाइरहने चेतावनी दिएको छ ।
यसैबीच, क्षेत्रीय आपूर्ति शृङ्खलालाई थप सुरक्षित र उत्थानशील बनाउन साउदी अरबले सन् २०२७ को दोस्रो अर्धवार्षिक अवधिदेखि सिङ्गापुरमा कच्चा तेल भण्डारण गर्न सुरु गर्ने भएको छ । साउदी अरब र सिङ्गापुरका ऊर्जा मन्त्रीहरूले सोमबार यसबारे जानकारी दिएका हुन् ।
अमेरिकामा पनि तेल आपूर्तिमा आएको अवरोध सम्बोधन गर्न कदम चालिएको छ । अमेरिकी ऊर्जा विभागले लुइजियाना राज्यस्थित एक तेल प्रशोधन केन्द्रमा आपूर्ति अवरुद्ध भएपछि रणनीतिक पेट्रोलियम भण्डारबाट ४ लाख ब्यारेल तेल बजारमा उपलब्ध गराउन शुक्रबार अनुमति दिएको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।